एजेन्सी- एप्पलले आर्टिफिसियल इन्टेलीजेन्स (एआई) प्रणालीको स्तरोन्नतिका लागि विश्वका केही प्रमुख समाचार संस्थाहरूसँग संवाद सुरू गरेकाे छ । उनीहरूको सामग्री प्रयोग गर्न स्वीकृति लिन एप्पलले ती संस्थाहरूसँग संवाद सुरु गरेको हाे ।
लेनदेनमा सहभागी स्राेतका अनुसार एप्पलले समाचारहरुको अभिलेख प्रयोगको लाइसेन्स प्राप्त गर्न ५ कराेड डलर मूल्य बराबरको बहुवर्षीय सम्झौताको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव लिएर एप्पल समाचार संस्थाहरू नास्ट, फग, न्यूयोर्कर, एनबिसी न्यूज, आइएसी र न्यूयोर्क टाइम्स लगायतका समाचार संस्थासम्म पुगेको छ ।
जानकारका अनुसार केहीले उक्त प्रस्तावप्रति खासै रुचि देखाएका छैनन् । यसैबीच एप्पलले च्याटजिपिटि जस्तै प्रविधिको विकास गरेको बताइन्छ । आफ्नो कर्मचारीहरुको लागि विकास गरिएको उक्त प्रविधिले साराशं निकाल्ने र यसमा समावेश गरिएको सूचना संग्रहको आधारमा प्रश्नको जवाफ दिने गर्दछ ।
गत जुलाईमा ब्लुमबर्गका संवाददाताले एप्पल आफ्नै एआई मोडेलको विकास गर्न लागिपरेको बताएका थिए । यसका लागि उसले आफ्नो ध्यान ‘अज्याक्स’ नामको नयाँ फ्रेमवर्कमा केन्द्रित गरेको छ । यो फ्रेमवर्कसँग विभिन्न क्षमताहरु छन । च्याटजिपिटि जस्तै विशेषतायुक्त यसलाई अनौपचारिक रुपमा एप्पलजिपिटि भनेर सम्बोधन गर्ने गरिएको छ । एप्पलद्वारा तयार पारिएको एउटा शाेधपत्रले ‘लार्ज ल्याङग्वेज’ मोडेलका उत्पादन आईफोन र आइप्याडहरुमा संचालन हुनसक्ने संकेत गरेको छ ।
प्रतिक्रिया