एजेन्सी- साउदी अरब नेतृत्वकाे तेल उत्पादक समूह ओपेक विगतका केही महिनादेखि पेट्राेलिम पदार्थकाे मूल्यवृद्धि गर्न पेट्राेल उत्पादन उत्पादन घटाउन तल्लीन छ। ओपेकले उक्त रणनीति तयार गरिरहँदा अंगाेलाले बिहीबार ओपेक समूहबाट बाहिरिने घाेषणा गरेकाे छ। उक्त घाेषणाले ओपेककाे रणनीतिमा ठूलाे धक्का लागेकाे छ।
अंगाेलाका तेलमन्त्री डायमन्टिनाे एजेभेदाे भन्छन्, ‘ओपेकले अब अंगाेलाकाे आवश्यकतालाई सम्बाेधन गर्न सक्दैन । हामीलाई लाग्छ अंगोलाले उक्त संगठनमा रहेर केही पनि हासिल गर्न सक्दैन। त्यसैले हाम्रो चासोको सुरक्षाका लागि हामीले ओपेक छोड्न निर्णय लिएका हौँ ।’
यससँगै अंगोला ओपेक छोडेका मध्यम प्रकारका तेल उत्पादक देश कतार र इक्वडोरको समूहमा सामेल भएको छ।
अंगोलाको निर्णयपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य २.४ प्रतिशत घटेको छ। अंगोलाको बहिर्गमनले ओपेक तथा ओपेक प्लसभित्रको एकतामाथि प्रश्न उब्जिएको छ। ओपेक प्लसले नयाँ चरणमा मूल्यवृद्धि गर्न तेल उत्पादन घटाउने योजना लागू गरिरहेको छ।
ओपेक प्लसले सन् २०२४ देखि अंगोलाको तेल उत्पादनमा गरेको कटौतीको विरोधपश्चात् ओपेकबाट बाहिरिने घोषणा गरेको हो। यो विवादले ओपेक प्लसको नोभेम्बरमा हुनुपर्ने भेलामा समेत ढिलाइ भएको थियो।
ओमनका ऊर्जामन्त्री भन्छन्, ‘पक्कै प्रतिक्रियाहरू हुनेछन्। केही समयका लागि यसले ओपेकभित्र आम सहमति नभएको देखिएता पनि अरु देशले पनि बहिर्गमनको बाटो रोज्लान् भन्ने कुरामा मलाई विश्वास छैन।’
यसैगरी ओपेकको अर्को सदस्य राष्ट्र नाइजेरिया पनि उसले पाएको कोटाभन्दा कम उत्पादन गर्ने मुलुकभित्र पर्छ ।
सन् २००७ मा ओपेकमा सामेल भएको अंगोलाले ११ लाख ब्यारेल तेल प्रतिदिन उत्पादन गर्दछ, जुन समूहको उत्पादन २.८ करोड ब्यारेलको ४ प्रतिशित उत्पादन हुन आउँछ।
अंगोलाको बहिर्गमनले ओपेकको सदस्य संख्या १२ मा सीमित हुन पुगेको छ, र विश्व बजारको तेल उत्पादन १० करोड २० लाखमा रहेकोमा उसको हिस्सा २७ प्रतिशतमा सीमित भएको छ।
यसैगरी उसको बजार हिस्सा कमी हुनुमा ओपेक र ओपेक प्लसबाट बहिर्गमन राष्ट्र बढ्दै जानु र अमेरिकाको बढ्दो उत्पादनको कारण छ।
ब्राजिल आउँदो जनवरीमा ओपेक प्लसमा सामेल हुने बताइए पनि उसले नियोजित पेट्रोलियम पदार्थको उत्पादन घटाउनेमा सहभागिता नजनाउने बताएको छ।
अंगोलाले विगतका वर्षहरूमा नयाँ तेल परियोजनामा घट्दो लगानीका कारण आफ्नो ओपेक प्लसको कोटा पूरा गर्न सकेको थिएन।
निर्यातको ९० प्रतिशत तेलमा निर्भर अंगोला अब सन् २००८ को २ करोड ब्यारेल प्रतिदिनको उसको उत्पादन कायम राख्दै अर्थतन्त्रमा रहेको तेलको निर्भरतालाई वैकल्पिक माध्यमबाट कम गर्न चाहन्छ।
प्रतिक्रिया