एयरपोर्टबाट साढे ६ किलो सुन बरामद


काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब साढे ६ किलो सुन बरामद भएको छ।

फ्लाइ दुबईको जहाजमा आएका इजिप्टका नागरिको साथबाट सुन बरामद गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी अर्जुन चन्द ठकुरीले बताए।

सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेका छन्।

उनी शनिबार राति ११ः५१ मा अवतरण अवतरण भएको फ्लाइ दुबईको जहाजमा आएका थिए। विशेष सुराकीका आधारमा चेकजाँच गर्दा ज्याकेटको खल्ती बनाएर ६ थान बिस्कुटजस्तो अर्धठोस अवस्थामा सुन बरामद गरिएको हो।

लासिमसँगै प्रहरीले अवैध सुन कारोबारमा संलग्न रहेको आशंकामा दुई सुडानी नागरिकलाई पनि नियन्त्रणमा लिएको छ। घटनबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि गत बिहीबार फ्लाइ दुबईकै विमानबाट १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका थिए।