काठमाडौं – नेपाल आयल निगमले उपभोक्तालाई खाना पकाउने एलपी ग्यास सहज र नियमित रूपमा उपलब्ध गराउन ग्यास उद्योगहरूलाई आयातदेखि बजार वितरणसम्मका सबै चरण पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ। निगमको एलपी ग्यास तथा एभिएसन विभागले परिपत्र जारी गर्दै देशभर ग्यास आपूर्ति व्यवस्थालाई थप सहज, नियमित र प्रभावकारी बनाउन उद्योगहरूलाई निर्देशन दिएको हो।
निगमले बजारको मागअनुसार एलपी ग्यासको आयात अधिकतम बढाउन, भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाएर आपूर्ति प्रणालीमा ल्याउन तथा उद्योगहरूको भण्डारण क्षमताको पूर्ण उपयोग गरी पर्याप्त मौज्दात राख्न भनेको छ।
त्यस्तै, ग्यास विक्रेता तथा बजारमा रहेका सिलिन्डरहरू पूर्ण क्षमतामा भरेर उपभोक्तासम्म नियमित आपूर्ति सुनिश्चित गर्न पनि उद्योगहरूलाई आग्रह गरिएको छ।
निगमका अनुसार ग्यास आपूर्ति व्यवस्थाका तीन महत्त्वपूर्ण पक्ष आयात वृद्धि, भण्डारण व्यवस्थापन र बजार वितरणलाई एकीकृत रूपमा परिचालन गरिनेछ। आपूर्ति शृङ्खलामा अवरोध आउन नदिई आम नागरिकलाई नियमित र सहज रूपमा ग्यास उपलब्ध गराउनु सरकारको प्राथमिकता रहेको निगमले जनाएको छ।
आयात, भण्डारण र वितरणबीच प्रभावकारी समन्वय कायम गर्दा बजार व्यवस्थापन थप व्यवस्थित हुने निगमको अपेक्षा छ। यसैबीच निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर सञ्चिति नगर्न अनुरोध गरेको छ। साथै बजारमा कृत्रिम अभाव सिर्जना हुने खालका गतिविधिमा संलग्न नहुन पनि उपभोक्तालाई आग्रह गरेको छ।





About Us
प्रतिक्रिया