काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२/८३ मा तलब, बैठक भत्ता तथा अन्य सुविधासहित ४६ लाख ४८ हजार ९५६ रुपैयाँ प्राप्त गरेका छन्। राष्ट्र बैंकको वार्षिक प्रतिवेदनअनुसार गभर्नर पौडेलले प्राप्त गरेको यो रकममा नियमित तलबसँगै सञ्चालक समितिको बैठक भत्ता र पदअनुसार उपलब्ध हुने विभिन्न संस्थागत सुविधासमेत समावेश छन्।
गभर्नर पौडेलले उक्त आर्थिक वर्षमा तलबबापत १६ लाख ३२ हजार रुपैयाँ, सञ्चालक समितिको बैठक भत्ताबापत पाँच लाख ६७ हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाबापत २४ लाख ४९ हजार ९५६ रुपैयाँ प्राप्त गरेका हुन्। तर, गभर्नर पौडेलको पारिश्रमिकलाई अघिल्ला गभर्नरहरूको प्राप्तिसँग तुलना गर्दा उनीभन्दा अघिल्लो कार्यकालका गभर्नरले बढी रकम बुझेको देखिन्छ। पूर्वगभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८०/८१ मा ६४ लाख ६२ हजार ७१ रुपैयाँ प्राप्त गरेका थिए। यो रकम गभर्नर पौडेलले गत आर्थिक वर्षमा प्राप्त गरेको भन्दा १८ लाख १३ हजार ११५ रुपैयाँ बढी हो।
गभर्नर पौडेल २०८२ जेठ ६ गते राष्ट्र बैंकको नेतृत्वमा नियुक्त भएका थिए। त्यसैले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा उनले गभर्नरका रूपमा पूरा वर्ष काम गरेका थिएनन्। उक्त वर्ष उनले ६ लाख ८३ हजार ६०३ रुपैयाँ मात्र प्राप्त गरेका थिए। आर्थिक वर्ष २०८२/८३ मा भने उनको पारिश्रमिक र सुविधा पूर्ण आर्थिक वर्षको हिसाबमा समेटिएको हो। राष्ट्र बैंकको सञ्चालक समितिका सदस्यहरूले प्रति बैठक नौ हजार रुपैयाँ बैठक भत्ता पाउने व्यवस्था छ। यसबाहेक पदाधिकारीले आफ्नो जिम्मेवारीअनुसार सवारीसाधन, इन्धन, सवारी मर्मत, चालक, टेलिफोन, पत्रपत्रिका, इन्टरनेट र चिकित्सा सुविधालगायतका संस्थागत सुविधा पाउँछन्। त्यसैले वार्षिक प्रतिवेदनमा देखिएको कुल रकमलाई नियमित तलबका रूपमा मात्र बुझ्न मिल्दैन।
डेपुटी गभर्नरको रकममा पूर्वपदको पारिश्रमिकसमेत
राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आर्थिक वर्ष २०८२/८३ मा तलब, भत्ता तथा अन्य सुविधासहित ६१ लाख ९८ हजार ९९५ रुपैयाँ प्राप्त गरेका छन्। गत चैत २४ गते डेपुटी गभर्नरमा नियुक्त भएका पण्डितको हकमा भने उक्त रकममा डेपुटी गभर्नर नियुक्त हनुअघिको कार्यकारी निर्देशक पदमा रहँदाको पारिश्रमिक तथा सुविधा पनि समावेश छ।
उनले तलबबापत १३ लाख ६५ हजार ५८० रुपैयाँ, बैठक भत्ताबापत दुई लाख २५ हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाबापत ४६ लाख आठ हजार ४१५ रुपैयाँ प्राप्त गरेका छन्। त्यसैले उनको कुल प्राप्तिलाई डेपुटी गभर्नर पदमा नियुक्त भएपछि पाएको एक वर्षको पारिश्रमिकका रूपमा बुझ्न मिल्दैन।
अघिल्ला डेपुटी गभर्नरले पनि पाए ६४ लाखसम्म
राष्ट्र बैंककी निवर्तमान डेपुटी गभर्नर डा.नीलम ढुंगाना (तिम्सिना) ले आर्थिक वर्ष २०८१/८२ मा ६४ लाख ३८ हजार १३१ रुपैयाँ प्राप्त गरेकी थिइन्। उनले २०८२ फागुन २५ गते कार्यकाल पूरा गरेकी हुन्। उपलब्ध विवरणअनुसार उनले अर्को आर्थिक वर्षमा ५४ लाख १८ हजार ९७१ रुपैयाँ प्राप्त गरेकी थिइन्। त्यस्तै, डेपुटी गभर्नर बमबहादुर मिश्रले आर्थिक वर्ष २०८२र८३ मा ५१ लाख १६ हजार ७७१ रुपैयाँ प्राप्त गरेका छन्।
उनले तलबबापत नौ लाख ४९ हजार २६० रुपैयाँ, सञ्चालक समितिको बैठक भत्ताबापत दुई लाख ३४ हजार रुपैयाँ र अन्य सुविधा तथा भत्ताबापत ४२ लाख ३५ हजार ७११ रुपैयाँ प्राप्त गरेका हुन्। राष्ट्र बैंकका पदाधिकारीको पारिश्रमिक विवरणले नियमित तलबसँगै पदअनुसार उपलब्ध हुने संस्थागत सुविधाको हिस्सा पनि उल्लेख्य रहेको देखाउँछ। सवारीसाधन, इन्धन, चालक, सञ्चार, स्वास्थ्य उपचार तथा अन्य सुविधासमेत जोडिएकाले कुल प्राप्ति रकम नियमित तलबभन्दा ठूलो देखिएको हो। यसरी हेर्दा गभर्नर पौडेलको पारिश्रमिक अघिल्ला गभर्नरको तुलनामा बढी देखिँदैन। राष्ट्र बैंकको नेतृत्वमा नियुक्त भएको मितिदेखि प्राप्त रकम र अघिल्ला पदाधिकारीको कार्यकाल तथा कुल सुविधालाई एउटै आधारमा तुलना नगरी बुझ्नुपर्ने जानकारहरू बताउँछन्।





About Us
प्रतिक्रिया