प्यान लिने करदाता ८१ लाख नाघे, तीन महिनामै थपिए पौने तीन लाख


काठमाडौं – नेपालमा स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ८१ लाख नाघेको छ। आन्तरिक राजस्व विभागका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म प्यान लिने करदाताको संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको हो। गत आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म यस्तो संख्या ७९ लाख १० हजार ८६४ थियो।

यसअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामै २ लाख ८४ हजार ५५० नयाँ करदाता प्यान प्रणालीमा जोडिएका छन्। विभागका अनुसार कुल प्यान लिने करदातामध्ये व्यावसायिक प्यान लिनेको संख्या २२ लाख २७ हजार ८३७ पुगेको छ। त्यस्तै, व्यक्तिगत प्यान लिनेको संख्या ५९ लाख २७ हजार ९३५ पुगेको छ। करकट्टी गर्ने निकायको प्यान संख्या ३९ हजार ५६२ रहेको छ। त्यस्तै, मूल्य अभिवृद्धि कर ९भ्याट० मा दर्ता भएका करदाताको संख्या ३ लाख ९० हजार ४७ पुगेको छ। अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख ३८ हजार ९२६ पुगेको विभागको तथ्यांक छ।

नेपालमा प्यान प्रणालीको सुरुवात २०५६ मंसिर १ गते काठमाडौंमा करदाता सेवा केन्द्र स्थापना भएपछि भएको हो। त्यसयता आयकर नम्बरको सट्टा स्थायी लेखा नम्बर जारी गर्न थालिएको थियो। प्रारम्भमा काठमाडौं उपत्यकामा सीमित रहेको यो प्रणाली २०५८ साउन १ देखि देशभर आयकर तथा मूल्य अभिवृद्धि करका लागि एकीकृत परिचय नम्बरका रूपमा प्रयोग हुन थालेको थियो। प्यान प्रणालीको सुरुवात तत्कालीन अर्थमन्त्री महेश आचार्यको कार्यकालमा भएको थियो।

करदाताको छुट्टाछुट्टै दर्ता प्रणालीलाई एकीकृत गरी एउटै स्थायी पहिचान नम्बरमार्फत कर प्रशासनलाई व्यवस्थित बनाउने उद्देश्यले यो प्रणाली सुरु गरिएको थियो। व्यक्तिगत प्यान वितरण अभियान भने २०६६ भदौ ८ गतेबाट सुरु भएको थियो। तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले राष्ट्रपति डा. रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा र प्रधानमन्त्री माधवकुमार नेपाललगायतलाई व्यक्तिगत प्यान कार्ड प्रदान गर्दै अभियान सुरु गरेका थिए। त्यसपछि रोजगारी तथा अन्य स्रोतबाट आय आर्जन गर्ने व्यक्तिलाई कर प्रणालीमा आबद्ध गर्ने क्रम बढेको थियो।

आर्थिक वर्ष २०६६/६७ देखि रोजगारीबाट आय आर्जन गर्ने व्यक्तिले पनि प्यान लिनुपर्ने व्यवस्था गरिएको थियो। त्यसपछि आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत ‘सबैका लागि प्यान’ (प्यान फर अल) को अवधारणा अघि बढाइएको थियो। यसले तलब, भत्ता, ज्याला तथा घरबहाललगायत विभिन्न स्रोतबाट आय आर्जन गर्ने व्यक्तिलाई व्यक्तिगत प्यानको दायरामा ल्याएको थियो। प्यान कर प्रयोजनका लागि व्यक्ति वा संस्थालाई प्रदान गरिने नौ अंकको विशिष्ट र स्थायी पहिचान नम्बर हो। एकपटक प्राप्त गरेपछि यसको नवीकरण गर्नुपर्दैन।

व्यवसाय, रोजगारी तथा लगानीबाट प्राप्त हुने आयको कर विवरण व्यवस्थापन गर्न प्यान प्रयोग गरिन्छ । व्यक्तिगत प्यानमार्फत व्यक्तिको आय, करकट्टी तथा कर दाखिलासम्बन्धी विवरण व्यवस्थित रूपमा अभिलेख राखिन्छ। रोजगारी गर्ने व्यक्तिले तलबबाट काटिएको करको विवरण प्राप्त गर्न, विभिन्न रोजगारदाताबाट प्राप्त आयको हिसाब मिलाउन तथा कर चुक्ता प्रमाणपत्र लिन प्यान आवश्यक पर्छ। त्यस्तै, स्वतन्त्र पेसाकर्मी, परामर्शदाता, सेवा प्रदायक, घरबहालबाट आय आर्जन गर्ने व्यक्ति तथा लगानीकर्ताका लागि पनि प्यान आवश्यक हुन्छ।