अन्नपूर्ण क्षेत्रमा एक महिनामै भित्रिए ४१ हजारभन्दा बढी विदेशी पर्यटक


काठमाडौं – गत अक्टुबरमा ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन्। यो सङ्ख्या गत वर्षको सोही महिनाको तुलनामा चार हजार ६८२ ले बढी हो। गत वर्ष अक्टुबरमा ३७ हजार ७६ जना विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए। मुख्य पर्यटकीय याम भएकाले अक्टुबर र नोभेम्बरमा पर्यटकको आगमन बढ्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख डा. रविन कडरियाले बताए।

अक्टुबरमा आएका कुल पर्यटकमध्ये १९ हजार २०७ जना दक्षिण एसियाली मुलुकका रहेका छन्। बाँकी अन्य देशका पर्यटक हुन्। सन् २०२६ सुरु भएयता सबैभन्दा बढी पर्यटक गत जुनमा आएका थिए। उक्त महिनामा एक लाख आठ हजार ७०३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । सबैभन्दा कम भने जनवरीमा २० हजार ६३ जना पर्यटक आएका थिए।

आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा भ्रमण गर्ने विदेशी पर्यटकको मात्रै तथ्याङ्क राख्ने गरेको छ। सडकमार्ग हुँदै ठूलो सङ्ख्यामा आन्तरिक पर्यटकसमेत अन्नपूर्ण क्षेत्रमा पुग्ने गरेका छन्। अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ र घोडेपानीलगायत गन्तव्य पर्यटकको रोजाइमा पर्दै आएका छन्। सात हजार ६०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन्।

Skip This