काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा लगातार ठुलो गिरावट आएको छ। पछिल्लो दुई कारोबार दिनमै सुनको मूल्य प्रतितोला १४ हजार १०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि तिहारअघि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ थियो।
यससँगै तिहारअघिको मूल्यको तुलनामा सुन प्रतितोला १४ हजार १०० रुपैयाँ सस्तो भएको छ। आइतबार मात्रै सुनको मूल्य थप १ हजार ५०० रुपैयाँले घटेको हो। चाँदीको मूल्य पनि आइतबार प्रतितोला १०० रुपैयाँले घटेर ३ हजार ६०० रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको तीव्र गिरावटको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको हो। अमेरिकी डलर बलियो हुनु, अपेक्षाभन्दा बढी मुद्रास्फीति देखिनु र अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर थप बढाउन सक्ने सम्भावनाले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा दबाब सिर्जना गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लाग्नुका पछाडि अमेरिकी डलरको मजबुती, अपेक्षाभन्दा बढी देखिएको मुद्रास्फीति र अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर थप बढाउन सक्ने सम्भावनालाई प्रमुख कारण मानिएको छ। सुनमा लगानी गर्दा ब्याज प्राप्त नहुने भएकाले ब्याजदर बढ्ने अपेक्षाले लगानीकर्तालाई सुनभन्दा डलर र सरकारी ऋणपत्रतर्फ आकर्षित गरेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य एकैदिन करिब ३ प्रतिशत घटेको थियो। यससँगै सुनको मूल्य एक वर्षभन्दा लामो अवधिकै न्यून विन्दुमा पुगेको थियो। शुक्रबार भने केही सुधार देखिए पनि सुन प्रतिऔंस ३ हजार ९०० डलरभन्दा तल नै रह्यो। शुक्रबारको कारोबारमा स्पट गोल्ड प्रतिऔंस ३ हजार ८७९.७१ डलरमा पुगेको रोयटर्सले जनाएको छ। यसअघि बिहीबार सुनको मूल्यमा आएको गिरावटले यसलाई चार महिनायताकै कमजोर साप्ताहिक प्रदर्शनतर्फ धकेलेको थियो।
अमेरिकी मुद्रास्फीतिले बढायो ब्याजदर वृद्धिको अनुमान
सुनको मूल्य घट्नुको एउटा प्रमुख कारण अमेरिकामा बढेको मुद्रास्फीति हो। अमेरिकी श्रम तथ्यांक ब्युरो ९बीएलएस० ले सार्वजनिक गरेको अक्टोबर महिनाको उपभोक्ता मूल्य सूचकांक (सीपीआई) अनुसार मासिक मुद्रास्फीति शून्य दशमलव ४ प्रतिशतले बढेको छ। सेप्टेम्बरमा यस्तो वृद्धि शून्य दशमलव ६ प्रतिशत थियो। मुद्रास्फीतिमा अपेक्षित सुधार नदेखिएपछि फेडरल रिजर्भले ब्याजदर घटाउनेभन्दा बढाउने नीति लिन सक्ने अनुमान बलियो भएको छ। अमेरिकी केन्द्रीय बैंकले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर उच्च राख्ने वा थप बढाउने सम्भावनाले अन्तर्राष्ट्रिय बजारका लगानीकर्ताको मनोविज्ञानमा परिवर्तन ल्याएको छ।
ब्लुमबर्गका अनुसार अमेरिकी मुद्रास्फीति तथ्यांक र फेडका अधिकारीहरूको कडा नीतिगत अभिव्यक्तिपछि डिसेम्बरमा ब्याजदर बढ्ने अपेक्षा बलियो बनेको छ। बजारले ब्याजदर वृद्धिको सम्भावना मूल्यमा समायोजन गर्न थालेपछि सुनमाथि थप दबाब परेको हो। ब्याजदर बढ्दा बैंक तथा सरकारी ऋणपत्रमा लगानी गरेर तुलनात्मक रूपमा बढी प्रतिफल पाउन सकिन्छ। तर सुन आफैँले ब्याज वा नियमित प्रतिफल दिँदैन। त्यसैले ब्याजदर बढ्ने अवस्थामा लगानीकर्ताले सुन बेचेर ब्याज प्राप्त हुने वित्तीय उपकरणमा लगानी सार्ने प्रवृत्ति देखिन्छ। यसले सुनको माग र मूल्य दुवैमा दबाब सिर्जना गर्छ।
डलर बलियो बन्दा सुन कमजोर
अमेरिकी मुद्रास्फीतिको तथ्यांक सार्वजनिक भएपछि डलरको मूल्य पनि बलियो बनेको छ। अन्तर्राष्ट्रिय बजारमा डलर बलियो हुँदा अन्य मुद्रामा कारोबार गर्ने लगानीकर्ताका लागि सुन खरिद महँगो हुन्छ। यसले सुनको अन्तर्राष्ट्रिय मागमा दबाब सिर्जना गर्छ। ब्लुमबर्गले नोभेम्बर १० र १२ मा प्रकाशित गरेको बजार विश्लेषणमा पनि अमेरिकी मुद्रास्फीतिको तथ्यांक र फेडरल रिजर्भका अधिकारीहरूको ब्याजदरसम्बन्धी कडा अभिव्यक्तिले डलरलाई बलियो बनाएको र सुनको मूल्यलाई ४ हजार डलरभन्दा तल धकेलेको उल्लेख गरेको छ। त्यस्तै, अमेरिकी सरकारी ऋणपत्रको प्रतिफल बढ्न थालेपछि पनि सुनमा लगानी गर्ने आकर्षण घटेको छ। सरकारी ऋणपत्रमा लगानी गर्दा निश्चित प्रतिफल प्राप्त हुने भएकाले प्रतिफल बढेको अवस्थामा लगानीकर्ताले सुनबाट पैसा झिकेर ऋणपत्रमा लगानी गर्ने सम्भावना बढी हुन्छ। सुनको मूल्यमा आएको पछिल्लो गिरावटमा यो पक्षले पनि भूमिका खेलेको छ।
४ हजार डलरको मनोवैज्ञानिक तह तोडिएपछि बिक्री चाप
सुनको मूल्य ४ हजार डलरको मनोवैज्ञानिक तहभन्दा तल झर्नु पनि बजारमा थप बिक्री चाप सिर्जना गर्ने कारण बनेको छ। अन्तर्राष्ट्रिय बजारमा यो तहलाई सुनको मूल्यका लागि महत्वपूर्ण आधार मानिएको थियो मूल्य उक्त तहबाट तल झरेपछि प्राविधिक संकेतका आधारमा कारोबार गर्ने लगानीकर्ताले थप गिरावटको अनुमान गर्दै बिक्री बढाएका छन्। मूल्य निश्चित सीमाभन्दा तल झर्दा स्वचालित रूपमा बिक्री आदेश कार्यान्वयन हुने ‘स्टप लस’ कारोबारले पनि गिरावटलाई थप तीव्र बनाउन सक्छ।
बिहीबार सुनको मूल्य घटेर प्रतिऔंस ३ हजार ८५२ डलरसम्म पुगेको थियो। त्यसपछि केही लगानीकर्ताले सस्तो मूल्यमा खरिद गर्न थाले पनि बजारमा बिक्रीको दबाब कायमै थियो। नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारको मूल्य र अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दरबाट प्रभावित हुन्छ। नेपालले सुनको अधिकांश माग आयातबाट पूरा गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रभाव घरेलु बजारमा पनि देखिन्छ। रोयटर्सका अनुसार शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य केही सम्हालिए पनि साप्ताहिक आधारमा करिब साढे ४ प्रतिशतले घटेको थियो। यसले आगामी दिनमा पनि अमेरिकी मुद्रास्फीति, फेडरल रिजर्भको ब्याजदर नीति र डलरको उतारचढावले सुनको मूल्य निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।






About Us
प्रतिक्रिया