काठमाडौं- नेपालले बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानीका लागि संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रस्ताव गरेको छ। युएईको भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र त्यहाँका वैदेशिक व्यापार मन्त्री डा थानी बिन अहमद अल जेयोदीबिच आबुधावीमा आज भएको शिष्टाचार भेटमा नेपालले उक्त प्रस्ताव गरेको हो।
त्यस अवसरमा गृहमन्त्री गुरुङले कृषि तथा सेवा क्षेत्रको विकास तथा सुरक्षा प्रविधिमा सहकार्यको प्रस्ताव गरेकाे उनको सचिवालयले जनाएको छ। उनीहरुबिच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यका विविध आयामबारे छलफल हुनाका साथै सुरक्षा निकायलाई प्रविधिमैत्री र आधुनिक बनाउने विषयमा समेत विचारविमर्श भएको थियो।
नेपालले प्रस्ताव गरेका परियोजनामा औपचारिक प्रस्ताव आदानप्रदान गरी आवश्यक प्रक्रिया अघि बढाउने तथा आगामी दिनमा सहकार्य थप सुदृढ र विस्तार गर्ने विषयमा दुवै पक्षको सकारात्मक धारणा रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। गृहमन्त्री गुरुङ युएईको दुबईमा आयोजित ‘विश्व प्रहरी शिखर सम्मेलन’मा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेका थिए।






About Us
प्रतिक्रिया