काठमाडौं – गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुन लागेको विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन आज शुक्रबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका छन्। उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम अभ्यास आदानप्रदान प्राथमिकतामा रहने गरेको छ।
सम्मेलनमा उच्चस्तरमा नीतिगत छलफल, विषयगत तथा प्राविधिक सत्र, उच्चस्तरीय राउन्ड टेबल मिटिङ्स, कार्यशाला तथा तालिम, अन्तर्राष्ट्रिय प्रदर्शनी, विश्व प्रहरी पुरस्कार (वर्ल्ड पुलिस समिट अवार्ड्स) लगायतका गतिविधि हुनेछन्। सम्मेलनको यस संस्करणमा रक्षा तथा संकट प्रतिकार्य, स्वचालित रोबोट, ड्रोन तथा मानवीय क्षमताः कृत्रिम बुद्धिमत्तामा आधारित प्रहरी सेवा तथा डिजिटल रूपान्तरण: साइबर आक्रमण तथा डिजिटल ठगी नियन्त्रण: क्रिप्टो कारोबार तथा वित्तीय अपराध नियन्त्रण: अपराध अनुसन्धान, गुप्तचर सूचना तथा आधुनिक फरेन्सिक प्रविधि: लागु औषध तथा सङ्गठित अपराध नियन्त्रण: सीमा सुरक्षा तथा स्मार्ट सुरक्षा प्रणाली: भू–उपग्रह सूचना तथा अन्तरिक्ष सुरक्षा लगायतका १४ विषयगत क्षेत्रहरू समेटिएका छन्।
सम्मेलनमा नेपालको सहभागिताबाट माननीय मन्त्रीज्यूले संयुक्त अरब इमिरेट्स तथा अन्य मुलुकका आन्तरिक मामिलासम्बन्धी मन्त्री तथा सुरक्षा प्रमुखसँग द्विपक्षीय भेटघाट गरी सुरक्षाको क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदानको सम्बन्धमा छलफल गर्ने, मानव बेचबिखन, मानव तस्करी, साइबर अपराध, लागु औषध तथा सीमापार सङ्गठित अपराध नियन्त्रणका लागि प्राथमिकताका आधारमा अन्तर्राष्ट्रिय सहकार्यका पहल अघि बढाउने तथा नेपाल प्रहरीको आधुनिकीकरण, प्रविधि हस्तान्तरण तथा विशेषज्ञ तालिमका लागि सम्भावित साझेदार संस्था पहिचान गर्ने लगायतका अवसर उपलब्ध हुनेछ।






About Us
प्रतिक्रिया