६६ करोडको आईपीओको तयारीमा पिपुल्स इनर्जी, खिम्ती–२ सहित आधा दर्जन आयोजनामा लगानी


काठमाडौं – सर्वसाधारणका लागि ६६ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारीमा रहेको पिपुल्स इनर्जीको वित्तीय अवस्था अझै कमजोर देखिएको छ । कम्पनीको नाफा लगातार दुई आर्थिक वर्षदेखि ऋणात्मक छ । यद्यपि, अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको नोक्सानी केही घटेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म कम्पनी ३९ लाख ९ हजार रुपैयाँ खुद नोक्सानीमा छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा कम्पनीको खुद नोक्सानी ५४ लाख २ हजार रुपैयाँ थियो। यसअनुसार एक वर्षमा कम्पनीको घाटा करिब १५ लाख रुपैयाँले घटेको छ ।

कम्पनी घाटामा रहेसँगै प्रतिशेयर आम्दानी पनि ऋणात्मक छ । अघिल्लो आर्थिक वर्षमा २० रुपैयाँ ऋणात्मक रहेको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षमा १५ रुपैयाँ ऋणात्मकमा झरेको छ । त्यस्तै, कम्पनीको सञ्चालन नोक्सानी पनि घटेको छ । अघिल्लो आर्थिक वर्षमा ६५ लाख ५ हजार रुपैयाँ रहेको सञ्चालन नोक्सानी गत आर्थिक वर्षमा ५६ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ । कर अघिको खुद नोक्सानी पनि अघिल्लो वर्षको ५८ लाख ५ हजार रुपैयाँबाट घटेर ३७ लाख ५६ हजार रुपैयाँमा झरेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ । यसरी कम्पनीको खुद नोक्सानी, सञ्चालन नोक्सानी र करअघिको नोक्सानी घट्दै गए पनि कम्पनी अझै नाफामा फर्किन सकेको छैन ।

६६ करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने तयारी

पिपुल्स इनर्जीले सर्वसाधारणका लागि ६६ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६६ लाख कित्ता शेयर निष्कासन गर्न अनुमति मागेको हो ।

कम्पनीले २०८१ साउन २३ गते आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले पाएको छ । सेबोनले गत कात्तिक ११ गते आईपीओ निष्कासनको प्रतीक्षामा रहेका ११७ कम्पनीलाई छ चरणमा वर्गीकरण गरेको थियो । बोर्डको वर्गीकरणअनुसार पिपुल्स इनर्जी चौथो चरणमा परेको छ।

कम्पनीको अधिकृत पुँजी ३ अर्ब ३० करोड रुपैयाँ र जारी पुँजी पनि ३ अर्ब ३० करोड रुपैयाँ छ। त्यस्तै, कम्पनीको चुक्ता पुँजी २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।

अन्य ६ कम्पनीमा पनि लगानी

पिपुल्स इनर्जीले खिम्ती–२ जलविद्युत् आयोजनासँग सम्बन्धित तथा अन्य ऊर्जा क्षेत्रका गरी ६ वटा कम्पनीमा लगानी गरेको छ । कम्पनीले आरएम इन्भेस्टमेन्ट कम्पनी, खिम्ती एग्रो प्रा.लि, पिपुल्स एग्रो प्रा.लि, नेपाल पावर एक्सचेन्ज कम्पनी, बलेफी इनर्जी प्रा.लि र मल्टी इनर्जी डेभलपमेन्ट प्रा.लिमा लगानी गरेको हो ।

आरएम इन्भेस्टमेन्ट कम्पनी : यस कम्पनीले ताप्लेजुङका विभिन्न भूभाग हुँदै बग्ने घुन्सा खोलामा १५५.८२ मेगावाट विद्युत् उत्पादन क्षमताको जलविद्युत् आयोजना विकास गर्ने तयारी गरेको छ। आयोजनाका लागि सर्वेक्षण अनुमति प्राप्त भइसकेको र सम्भाव्यता अध्ययन भइरहेको कम्पनीले जनाएको छ। यसमा पिपुल्स इनर्जीले हालसम्म ६ करोड १३ लाख रुपैयाँ लगानी गरेको छ ।

खिम्ती एग्रो प्रालि : खिम्ती–२ आयोजनाका लागि आवश्यक जग्गा खरिद गर्ने उद्देश्यले यो कम्पनी स्थापना गरिएको हो । पिपुल्स इनर्जीका नाममा ७५ रोपनीभन्दा बढी जग्गा खरिद गर्न नसकिने प्रशासनिक तथा प्राविधिक कठिनाइ रहेकाले कम्पनीकै पूर्ण स्वामित्वमा रहेको खिम्ती एग्रोमार्फत जग्गा खरिद गरिएको जनाइएको छ । यस कम्पनीमा पिपुल्स इनर्जीले हालसम्म ४ करोड ८ लाख रुपैयाँ लगानी गरेको छ ।

पिपुल्स एग्रो प्रालि : खिम्ती एग्रोमा जस्तै जग्गा खरिदसम्बन्धी प्रशासनिक तथा प्राविधिक कठिनाइका कारण आयोजनाका लागि आवश्यक जग्गा खरिद गर्न यो कम्पनी प्रयोग गरिएको छ । पिपुल्स इनर्जीको पूर्ण स्वामित्वमा रहेको यस कम्पनीमा हालसम्म ३ करोड ५१ लाख रुपैयाँ लगानी भएको छ ।

नेपाल पावर एक्सचेन्ज कम्पनी : नेपालमा उत्पादित विद्युत् आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने उद्देश्यले यो कम्पनी स्थापना गरिएको हो । विद्युत् खरिद बिक्रीका लागि सरकारका सम्बन्धित निकायसँग समन्वय गरी स्वीकृति लिने प्रक्रिया अघि बढाइएको छ । यस कम्पनीमा पिपुल्स इनर्जीले हालसम्म ५० लाख रुपैयाँ लगानी गरेको छ ।

बलेफी इनर्जी प्रालि : सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित बलेफी खोलामा ४० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन छ । यस आयोजनामा पिपुल्स इनर्जीले हालसम्म ५ करोड ५ लाख रुपैयाँ लगानी गरेको छ ।

मल्टी इनर्जी डेभलपमेन्ट प्रालि : रसुवाको गोसाईंकुण्ड गाउँपालिकास्थित लाङटाङ खोलामा २० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छ । यस आयोजनामा पिपुल्स इनर्जीले हालसम्म ५० लाख रुपैयाँ लगानी गरेको छ ।

प्राकृतिक विपत्तिले खिम्ती–२ आयोजना १५ महिना ढिलो

पिपुल्स इनर्जीले निर्माण गरिरहेको ४८.८ मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत् आयोजनाको निर्माण कार्य विभिन्न प्राकृतिक विपत्ति र प्राविधिक समस्याका कारण करिब १५ महिना ढिलो हुने भएको छ ।

कम्पनीको वार्षिक साधारण सभामा प्रस्तुत विवरणअनुसार २०८१ वैशाखमा आएको बाढी पहिरोले आयोजनाको पहुँच मार्ग र सडक सञ्जालमा ठुलो क्षति पुर्‍याएको थियो । त्यस्तै, सुरुङमा भएको दुर्घटनापछि स्थानीय अवरोध सिर्जना हुँदा निर्माण कार्य प्रभावित भएको थियो ।

सोही वर्ष जेठ १९ र असोज १२ गते परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले प्रवेश सुरुङमा समेत क्षति पुर्‍याएको थियो । खुर्कोट–मन्थली जोड्ने मुख्य पुल, ठेकेदार कम्पनीको स्टोर, मेसिन तथा निर्माण सामग्री बगाउँदा आयोजनाका लागि आवश्यक सामग्री ढुवानी पूर्ण रूपमा ठप्प भएको कम्पनीले जनाएको छ ।

यस सम्बन्धमा डा. मोहनप्रसाद आचार्यले तयार पारेको प्रतिवेदनले प्राकृतिक विपत्ति तथा अन्य काबुबाहिरका परिस्थितिका कारण आयोजना निर्माणमा करिब १५ महिना ढिलाइ हुने औँल्याएको थियो । यसका अतिरिक्त कोरोना महामारी, निर्माण सामग्री तथा इन्धनको मूल्यवृद्धि, सरकारी स्वीकृति प्रक्रियामा भएको ढिलाइ र डिजाइन परिवर्तनले पनि आयोजनाको निर्माण अवधि र कुल लागत बढाएको कम्पनीको भनाइ छ ।

ऋण भुक्तानी र थप लगानीका लागि पुँजी बढाउने योजना

कम्पनीले खिम्ती–२ जलविद्युत् आयोजनाका बाँकी मुख्य निर्माण कार्य निर्धारित समयभित्र सम्पन्न गर्ने योजना बनाएको छ । साथै, आयोजना निर्माणका क्रममा विभिन्न व्यक्ति, कम्पनी तथा संस्थाबाट छोटो अवधिका लागि लिइएका ऋण भुक्तानी गर्ने र अन्य आयोजनामा समेत लगानी विस्तार गर्ने कम्पनीको योजना छ ।

यसका लागि कम्पनीले पुँजी वृद्धि गर्ने रणनीति लिएको छ । आर्थिक वर्ष २०८३/८४ भित्र सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने योजना पनि कम्पनीले सार्वजनिक गरेको छ ।

त्यसैगरी, जलविद्युत् उत्पादन तथा प्रसारणसँग सम्बन्धित अन्य आयोजना र कम्पनीमा लगानी गर्दै जाने, थप जलविद्युत् आयोजनाको खोजी तथा अध्ययन गरी निर्माण अघि बढाउने र समय अनुकूल अन्य आवश्यक गतिविधि सञ्चालन गर्ने कम्पनीको भावी योजना छ । 

को–को छन् सञ्चालक ?

पिपुल्स इनर्जीको सञ्चालक समितिमा नौ जना सञ्चालक रहेका छन् । कम्पनीको दैनिक कामकाज तथा आयोजना निर्माणलाई निरन्तरता दिन कार्यकारी अध्यक्षको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको कार्यकारी अध्यक्षमा कृष्णप्रसाद आचार्य छन् । सञ्चालकमा दिल सुन्दर श्रेष्ठ (विन्ध्यवासिनी हाइड्रोपावरका प्रतिनिधि) र सन्दीप आचार्य (रिपु मर्दिनी पावरका प्रतिनिधि) रहेका छन् । त्यस्तै, अनिल घिसिङ, देवबहादुर पौडेल क्षेत्री, अर्जुनकुमारी कार्की र शशि लामा सञ्चालक छन्। स्वतन्त्र सञ्चालकमा अनिलभक्त श्रेष्ठ र अरुण घिसिङ रहेका छन् ।

Skip This