काठमाडौं – नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) यस कम्पनीको कारोबार सुरू भएको केही मिनेटमै शेयरमूल्य १५ प्रतिशतले बढेर सर्किट ब्रेक गरेको हो।
सरकारले केहि समय अघिदेखि रोकिएको नेपाल पुनर्बीमा कम्पनीको शतप्रतिशत हकप्रद शेयर प्रक्रियालाई फेरि अगाडि बढाउने भएसँगै यस कम्पनीको शेयर मूल्य बढेको हो। हिजो बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेसँगै कम्पनीको शेयर मूल्यमा सकारात्मक प्रभाव देखिएको छ।
यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर मूल्य १५ प्रतिशतले बढेर ९ सय २१ रुपैयाँ ७० पैसामा पुगेको छ। आज ८ सय १ रुपैयाँबाट कारोबार सुरु गरेको कम्पनी कारोबार सुरु भएको केही मिनेटमै १५ प्रतिशतले बढेर ९ सयको बिन्दुमा उकालो लागेको हो।
पुनर्बीमा कम्पनीहरूको लागि बीमा प्राधिकरणले २० अर्ब चुक्ता पुँजी तोकेको छ। हाल १३ अर्ब ४२ करोड पुँजी रहेको यसले बाँकी रकम हकप्रद शेयर जारी गरेर जुटाउनेछ। कम्पनीले एक बराबर ०।५ अर्थात् ५० प्रतिशत हाराहारी हकप्रद शेयर जारी गर्नुपर्ने हुन्छ।





About Us
प्रतिक्रिया