नागरिक सेवामा पूर्ण समर्पित भई कार्यसम्पादन गर्न महानिरीक्षक कार्कीको निर्देशन


काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा देखिने जुनसुकै चुनौतीको सामना गर्दै शान्ति सुव्यवस्था कायम गर्न प्रभावकारी प्रहरी परिचालन गर्न र नागरिकका गुनासो उचित रूपमा सम्बोधन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। नजिकिँदै गरेका दीपावली, नेपाल संवत् र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै बुधवार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममा आयोजित निर्देशन सम्बोधनका क्रममा उनले नागरिक सेवामा पूर्ण रूपमा समर्पित भएर कार्यसम्पादन गर्नुपर्ने बताएका हुन्।

महानिरीक्षक कार्कीले चाडपर्वका समयमा हुन सक्ने लुटपाट, चोरीलगायत आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना बनाएर प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्नेमा जोड दिए। उनले सवारी दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गरी सवारीसाधनको यान्त्रिक जाँच, लागू पदार्थ तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने गतिविधि, ओभरलोड र ट्राफिक नियम उल्लङ्घन नियन्त्रण गर्न निर्देशन दिए। ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्नुका साथै जनचेतनामूलक सन्देश प्रवाह गरेर यात्रुको सहज र सुरक्षित आवागमन सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो।

सीमा नाकामा हुन सक्ने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण र फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राख्न पनि उनले निर्देशन दिए। यसका लागि सूचना सङ्कलन र विश्लेषणलाई प्रभावकारी बनाउँदै प्रहरी परिचालन गर्नुपर्ने उनले बताए। चाडपर्वका समयमा जुवातास, पटका तथा विस्फोटक पदार्थको अवैध कारोबार र सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधि नियन्त्रण गर्न प्रहरी कर्मचारीलाई थप सक्रिय हुन उनले आग्रह गरे। आफ्नो जिम्मेवारी क्षेत्रको सुरक्षा व्यवस्थापनका लागि आवश्यक योजना निर्माण गरी स्थानीय तह तथा अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्नुपर्नेमा पनि उनले जोड दिए।

काठमाडौंमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को सुरक्षा व्यवस्थापनमा कुनै त्रुटि हुन नदिन महानिरीक्षक कार्कीले निर्देशन दिएका छन्। प्रतियोगिताका क्रममा हुन सक्ने अनलाइन बेटिङलगायत गतिविधि नियन्त्रण गर्न उपलब्ध प्रविधिको अधिकतम प्रयोग गरी संलग्नलाई कानुनी दायरामा ल्याउन उनले निर्देशन दिए। आगामी बिहीबारदेखि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सम्भावित जोखिमयुक्त स्थान पहिचान गर्न र पूर्वतयारीसहित प्रहरी परिचालन गर्न पनि उनले आग्रह गरे।

त्यसैगरी, विभिन्न स्थानमा रहेका होल्डिङ सेन्टरमा बसिरहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न संवेदनशील भएर काम गर्नुपर्ने उनले बताए। महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई व्यावसायिक मर्यादा र अनुशासन पूर्ण रूपमा पालना गर्न तथा सामाजिक सञ्जालको प्रयोगमा संवेदनशील हुन निर्देशन दिए। 

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सङ्गठनको उद्देश्य र लक्ष्य प्राप्तिका लागि सामूहिक भावनाका साथ काम गर्नुपर्ने उनको भनाइ थियो।गैरव्यावसायिक गतिविधिमा संलग्न प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याइने उनले स्पष्ट पारे। प्रदेश प्रहरी प्रमुख तथा जिल्ला प्रहरी प्रमुखलाई आ–आफ्नो कार्यक्षेत्रको अनुगमन, सुपरिवेक्षण र निरीक्षण गरी देखिएका कमजोरी समयमै सुधार गर्न पनि उनले निर्देशन दिए।