पर्यटक भिसामा आएर स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ


काठमाडौं – मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकले आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई पक्राउ गरी उनीहरूको साथबाट कागजात जफत गरी थप कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ।

पक्राउ पर्नेमा ब्राजिलका म्यासिल सानाना ब्रेनो  फ्रान्क फर्नान्डो अगस्ट र वाज बारबोसा साओ पाउलो रहेका छन्। साथै, क्यानडाका लुइगी मेनेगुसो भ्यालेन्जी, एभिलिन मेनेगुसो फर्नान्डिस, अमेरिकाका  पाउलो रोबर्टो बेचारा, सेल्मा अगस्ता वेल बेचारा,  राल्फ वार्नर क्लार्क,  करेन क्रिस्टिना जारा र भिक्टोरिया क्रिस्टिना जारा क्लार्क रहेका छन्। 

मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा क्रिश्चियन धार्मिक गतिविधि प्रचारमा संलग्न रहेको ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले पर्यटक भिषामा आएका विदेशी चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरेको कारण उनीहरूको कागजात जफत गरी अध्यागमन विभाग पठाइएको हो। शिविरमा आवश्यक अनुमति नलिई पर्यटक भिषामा आएका विदेशी नागरिक संलग्न भएकोले विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयले उनीहरूको राहदानी आवश्यक कारबाहीका लागि विभाग पठाइएको छ। 

गत कार्तिक ८ गते देखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको शिविरमा १० जना विदेशी नागरिकसहित सेवा दिइरहेका थिए। शिविरको तयारी पास्टर पावेल दङ्गालले गरेका थिए। स्थानीय स्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गरिने भनिएको जग्गामा यस अघि पास्टर बाङदेलले क्रिश्चियन धार्मिक कक्षा संचालन गर्दै आएका थिए।

मोरङको कानेपोखरी बरगाछीका किराना व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माणका लागि भन्दै तीन कट्ठा जग्गामा छ वटा साना–ठूला भवन निर्माण गरेको र सोही भवनमा हाल धार्मिक गतिविधि तथा अन्य कार्यक्रमका लागि प्रयोग भइरहेको विवाद सुरु भए पश्चात स्थानीयलाई खुसी पार्न किराना व्यवसायी नवराज श्रेष्ठले शिविरको आयोजना गरेका थिए। हाल उक्त स्थानमा दुई जना पास्टर र केही सिलाइकटाइ प्रशिक्षक बस्दै आएको पाइएको छ।  

सो कार्यक्रममा ब्राजिल, क्यानडा र अमेरिकाका गरी १० जना विदेशी नागरिकको रहेको पाइएको छ। उनीहरू सन् २०२६ अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेको तथा उनीहरूको भिसाको म्याद नोभेम्बर ६ देखि २१ सम्म रहेको देखिन्छ।