धनुषाबाट ११ लाख ४० हजार रुपैयाँ बराबरको औषधिसहित ई–रिक्सा बरामद


काठमाडौं – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित बसहिया गाउँबाट ११ लाख ४० हजार रुपैयाँ बराबरको औषधिसहित एउटा ई–रिक्सा बरामद गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म जटहीबाट खटिएको गाडी मोबाइल टोलीले चेकजाँच गर्ने क्रममा उक्त औषधि र ई–रिक्सा बरामद गरेको हो।

बरामद गरिएका सामग्रीमा मल्टिभिटामिन, मल्टिमिनरल तथा एन्टिअक्सिडेन्टयुक्त सफ्ट जेल क्याप्सुल (ए.आर. भिट प्लस) २१० प्याकेट रहेका छन्। औषधि ढुवानीमा प्रयोग गरिएको ई–रिक्सासमेत नियन्त्रणमा लिइएको छ। औषधि तथा ई–रिक्सा बरामद गरी सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।