६८ किलोभन्दा बढी चाँदीका गरगहनासहित भारतीय नागरिक  अमन सर्राफ पक्राउ


काठमाडौं – काठमाडौंको थानकोटबाट ६८ किलोभन्दा बढी चाँदीका तयारी गरगहनासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित रक्सौल घर भई काठमाडौंको चन्द्रागिरिमा बस्दै आएका अमन सर्राफ रहेका छन्।

प्रहरीका अनुसार थानकोट क्षेत्रमा कोठा भाडामा लिएर भन्सार छली चोरी पैठारी गरी ल्याइएका विभिन्न प्रकारका चाँदीका तयारी गरगहना अवैध रूपमा बिक्री वितरण गर्ने गरेको विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो। प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–७, थानकोटबाट सर्राफलाई चाँदीका गरगहनासहित पक्राउ गरेको हो । 

प्रहरीले उनको साथबाट चाँदीको पाउजु, सिक्री, कानमा लगाउने गरगहना, कम्मर बेल्ट, जन्तर, औँठी तथा छल्ला, चाँदीका सिक्का, चम्चा, पत्थर जडित बाला, पाइप बाला, सिन्दुर राख्ने बट्टा, घण्टी र मूर्तिलगायतका सामग्री बरामद गरेको छ । 

त्यस्तै, चाँदीका ब्रासलेट, पन्जाबी कडी, नेकलेस सेट, चुरा, पोते पाउजु, बल तथा लकेट पनि बरामद गरिएको छ। बरामद गरगहनासँगै तीन थान डायरी, दुई थान तौल गर्ने मेसिन, एक थान टुलबक्स, एक थान थर्मस र एक थान मोटरसाइकलको सिट कभरसमेत प्रहरीले फेला पारेको छ।

बरामद सामग्रीसहित उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि कात्तिक १० गते त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको प्रहरीले जनाएको छ।