अवैध रूपमा ल्याउँदै गरेको ६४ डिब्बा पटका बरामद, दुई जना पक्राउ


बारा- बाराको जितपुरसिमरा उपमहानगरपालिका – ०१ पथलैयास्थित चेकपोइन्टबाट प्रहरीले अवैध रूपमा ल्याउँदै गरेको पटका बरामद गरेको छ। प्रहरी चौकी पथलैया, बाराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज दाहालको कमाण्डमा खटिएको प्रहरीको टोलीले सिम्रौनगढबाट काठमाडौं ल्याउँदै गरेको माछा लोड गरेको पिकअपलाई पथलैया चेकपोइन्टमा चकेजाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याउँदै गरेको करिब ८० हजार रुपैयाँ मूल्य बराबरको विभिन्न सात प्रकारका अवैध पटका ६४ डिब्बा फेला पारी बरामद गरेको हो।

उक्त पटका सहित जिल्ला रौतहट, राजपुर कुडिया नगरपालिका – ०५ बस्ने २८ वर्षीय विनोद महतो र जिल्ला बारा, पचरौता नगरपालिका – ०७ बस्ने २६ वर्षीय राधाकृष्ण सहनीलाई समेत नियन्त्रणमा लिइएको छ। बरामद गरिएको पटाकामा पेटा स्काइ प्लस ३० डिब्बा, रेड क्राकलिङ सर्ट १० डिब्बा, फ्लावर गार्डेन १ डिब्बा, सिङ्गल रकेट १२ डिब्बा, फ्लावर म्याजिक ६ डिब्बा, फ्लाइङ स्टार ४ डिब्बा र फ्लावर सो १ डिब्बा रहेका छ।

बरामद पटाकाको कुल अनुमानित मूल्य ८० हजार रुपैयाँ रहेको छ भने उक्त बरामद पटकाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।