काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा दुई दशक पूरा गरेको ग्रेस इन्टरनेशनलले अस्ट्रेलियाको सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ। संस्थाको स्थापनाको २० वर्ष पूरा भएको अवसरमा आगामी अक्टोबर २६ अर्थात् कात्तिक ९ गते सोमबार सिड्नीस्थित ऐतिहासिक सिड्नी टाउन हलमा एक्स्पो आयोजना हुन लागेको हो।
सन् २००६ मा स्थापना भएको ग्रेस इन्टरनेशनलले आयोजना गर्न लागेको एक्स्पो बिहान ११ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म सञ्चालन हुनेछ। सिड्नी टाउन हलको लोअर टाउन हलमा हुने कार्यक्रममा ५० भन्दा बढी विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरू सहभागी हुने आयोजकले जनाएको छ।
एक्स्पो विशेषगरी अस्ट्रेलियामा अध्ययनरत तथा आफ्नो उच्च शिक्षालाई निरन्तरता दिन चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका साथै अध्ययनपछिका अवसर, करियर विकास र माइग्रेसनसम्बन्धी परामर्श खोजिरहेका व्यक्तिहरूलाई लक्षित गरी आयोजना गर्न लागिएको हो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटेर थप अध्ययनका विकल्प, कोर्स परिवर्तन, उच्च शिक्षाका अवसर, भर्ना प्रक्रिया, छात्रवृत्ति तथा आफ्नो शैक्षिक र व्यावसायिक भविष्यसँग सम्बन्धित विषयमा जानकारी प्राप्त गर्न सक्नेछन्।
त्यस्तै, अस्ट्रेलियामा अध्ययन पूरा गरिसकेका वा अध्ययनरत विद्यार्थीहरूले आफ्नो योग्यता, शैक्षिक पृष्ठभूमि तथा व्यक्तिगत परिस्थितिअनुसार उपलब्ध हुन सक्ने माइग्रेसनका सम्भावित मार्ग, भिसासम्बन्धी प्रक्रिया तथा आवश्यक मापदण्डबारे सम्बन्धित परामर्शदाताबाट जानकारी लिन सक्नेछन्।
‘कनेक्टिङ लाइफ एन्ड लर्निङ’ भन्ने मूल नाराका साथ अघि बढिरहेको ग्रेस इन्टरनेशनलले नेपाल, अस्ट्रेलियालगायत विभिन्न देशमा शैक्षिक तथा आप्रवासन परामर्श सेवा प्रदान गर्दै आएको छ। दुई दशकको अनुभवलाई अस्ट्रेलियामा रहेका नेपाली तथा अन्य अन्तर्राष्ट्रिय विद्यार्थीहरूको बदलिँदो शैक्षिक, व्यावसायिक र आप्रवासनसम्बन्धी आवश्यकतासँग जोड्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको हो।
ग्रेस इन्टरनेशनलका सहसंस्थापक तथा नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० का अध्यक्ष एन्ड्र्यु पौडेलसमेत एक्स्पोमा सहभागी हुनेछन्। उनले अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरी उनीहरूले भोगिरहेका शैक्षिक, व्यावसायिक तथा अन्य व्यावहारिक समस्या, चुनौती र सुझावहरू सुन्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
पौडेलले विद्यार्थीहरूको वास्तविक अनुभव, समस्या तथा सुझावलाई नजिकबाट बुझ्नु र उनीहरूका आवश्यकता सम्बोधन गर्न सम्बन्धित सरोकारवालासँग संवाद अघि बढाउनु महत्त्वपूर्ण रहेको बताएका छन्।
उनका अनुसार एक्स्पो विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूसँग भेटघाट गर्ने अवसर मात्र नभई अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूको अनुभव सुन्ने, उनीहरूका समस्या बुझ्ने तथा भविष्यका सम्भावनाबारे प्रत्यक्ष संवाद गर्ने साझा मञ्चसमेत बन्नेछ।
सन् १८८९ मा निर्माण सम्पन्न भएको सिड्नी टाउन हल सहरको प्रमुख ऐतिहासिक सम्पदामध्ये एक हो। सिड्नीको जर्ज स्ट्रिटस्थित यस ऐतिहासिक भवनमा आयोजना हुने एक्स्पोले विद्यार्थी, शैक्षिक संस्था तथा परामर्शदाताबीच प्रत्यक्ष संवाद र सहकार्यको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
आयोजकले अस्ट्रेलियामा अध्ययनरत, थप अध्ययनको योजना बनाइरहेका, करियरका नयाँ अवसर खोजिरहेका तथा माइग्रेसनसम्बन्धी जानकारी लिन इच्छुक नेपाली एवं अन्य अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ। एक्स्पोमा प्रवेश निःशुल्क रहनेछ।






About Us
प्रतिक्रिया