भारत चौथो ठुलो अर्थतन्त्र बन्ने आईएमएफकाे प्रक्षेपण


काठमाडौं – अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) को प्रक्षेपणअनुसार भारत सन् २०२७ मा जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने भएको छ। भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४५ खर्ब २० अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ भने जापान छैटौँ स्थानमा झर्ने अपेक्षा छ। नाममात्रको जीडीपीका आधारमा जापान यस वर्ष विश्वको चौथो ठुलो अर्थतन्त्र बन्नेछ। तर, सन् २०२७ मा भारत र बेलायतले जापानलाई पछाडि पार्ने आईएमएफको प्रक्षेपण छ। विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र अमेरिका हो भने चीन दोस्रो र जर्मनी तेस्रो स्थानमा छन्।

विश्वव्यापी आर्थिक अवरोधका बीच भारतले पछिल्ला वर्षमा बलियो आर्थिक वृद्धि हासिल गरेको छ। आइएमएफले यसै साता सन् २०२६ का लागि भारतको आर्थिक वृद्धिदरको अनुमान बढाएर सात प्रतिशत पुर्‍याएको छ। यसको विपरीत, वृद्ध जनसङ्ख्या र संरचनात्मक समस्याका कारण जापानको आर्थिक वृद्धि सुस्त बनेको छ।

एसिया–प्रशान्त क्षेत्रका लागि आइएमएफको क्षेत्रीय आर्थिक दृष्टिकोण बिहीबार सार्वजनिक गर्दै एसिया निर्देशक कृष्ण श्रीनिवासनले इरानमाथि अमेरिका र इजरायलको युद्धका कारण ऊर्जा मूल्यमा परेको असर सामना गर्न भारत तुलनात्मक रूपमा बलियो अवस्थामा रहेको बताए। भारतको आर्थिक वृद्धि बलियो रहेको, वित्तीय अनुशासन कायम भएको र पर्याप्त विदेशी मुद्रा सञ्चिति रहेकाले ऊर्जा मूल्यको धक्कालाई सामना गर्न सहज भएको उनको भनाइ थियो।

आइएमएफले जापानको आर्थिक वृद्धिदर सन् २०२६ मा शून्य दशमलव सात प्रतिशतमा सीमित हुने अनुमान गरेको छ। ऊर्जा मूल्यवृद्धि र व्यापक मुद्रास्फीतिले जापानको अर्थतन्त्रमा दबाब बढाएको छ। सन् २०२२ को वसन्तयामदेखि निरन्तर बढिरहेको उपभोक्ता मूल्यमा इरान युद्धका कारण ऊर्जा महँगिएपछि थप चाप परेको छ। यसले जापानको केन्द्रीय बैंकलाई तीन दशकयताकै उच्च ब्याजदरमा पुर्‍याएको छ।

अमेरिकी डलरको तुलनामा येनको मूल्य गर्मीयाममा ४० वर्षयताकै न्यून स्तरमा झरेपछि आयात लागतसमेत बढेको छ। वृद्ध जनसङ्ख्याले पनि जापानको आर्थिक गतिविधिमा असर पारेको छ। श्रीनिवासनले कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा भइरहेको लगानीले जापानको अर्थतन्त्रलाई फाइदा पुर्‍याए पनि यसबाट क्षेत्रका अन्य अर्थतन्त्रको तुलनामा उल्लेखनीय बढी लाभ नपुगेको बताए। यसैबिच एआई क्षेत्रका कम्पनीहरूको नाफाबारे शङ्का बढेपछि प्रविधि कम्पनीका सेयरमा गिरावट आएको छ। त्यसको असर जापानको प्रमुख शेयर बजार सूचक निक्केईमा पनि परेको छ । बिहीबार निक्केई सूचक करिब पाँच प्रतिशतले घटेको छ।