काठमाडौं – पछिल्लो समय नेपालीहरूको रुचि भ्रमणमा देखिन थालेको छ। आजभोलि नेपालीहरू आफ्ना व्यस्त दैनिकीबाट समय निकालेर नयाँ ठाउँहरू घुम्न र रमाउन थालेका छन्। अझ वर्षभरिको कामको थकान मेटाउन र परिवार, साथीभाइसँग समय बिताउनका लागि दसैँ र तिहारको समयलाई उत्तम मानिन्छ। यो समयमा विद्यालय, कलेज, कार्यालयहरूमा लामो बिदा हुने भएकाले घुम्न जान लामो समयदेखि योजना बनाउँछन्। अझ पछिल्ला केही वर्षयता नेपालहरूको भ्रमणको रुचि देशका विभिन्न स्थानमा मात्रै नभएर विदेश भ्रमणतर्फ पनि उत्तिकै बढेको छ। हामी घुम्न जाने योजना त बनाउँछौँ। तर, कहाँ जाने भनेर सही गन्तव्य रोज्न नसक्दा एक किसिमको तनाव नै हुन्छ। तपाईँहरूको यही अलमललाई सहज बनाउन हामीले यो दसैँ बिदामा घुम्नका लागि नेपाल भित्र र नेपाल बाहिरका केही चर्चित र सुन्दर पर्यटकीय गन्तव्यहरूको सूचि तयार पारेका छौँ।
बाली, इन्डोनेसिया
यदि तपाईँहरू यो दसैं बिदामा अन्तर्राष्ट्रिय भ्रमणका लागि सोचिरहनु भएको छ भने तपाईँहरूका लागि ‘बाली’ एक उत्तम गन्तव्य हुन सक्छ। इन्डोनेसियामा अवस्थित बाली प्राकृतिक सुन्दरता, शान्ति, अनुपम संस्कृति र समुन्द्री तटको लागि प्रसिद्ध छ। यदि तपाईँहरूलाई प्राकृतिक सुन्दरता, शान्ति, अनुपम संस्कृति र समुन्द्री तटको आनन्द लिन मन पर्छ भने यो बिदामा बाली जान सक्नुहुन्छ। बाली नव विवाह जोडी, पारिवारिक बिदा र मानसिक शान्तिका लागि एकदमै लोकप्रिय छ।
यो एउटा प्रख्यात पर्यटकीय गन्तव्यको टापु हो। बाली विशेष गरी परम्परागत तथा आधुनिक नृत्य, मूर्तिकला, चित्रकला, छाला तथा धातुका सामग्रीहरू तथा सङ्गीत जस्ता उच्चकोटीका कला तथा कला सामग्रीहरूका लागि प्रसिद्ध छ। सन् २०१७ को मार्चमा भ्रमणको लागि सुझाव दिने प्रख्यात वेबसाइट ट्रिपएड्भाइजरले बालीलाई विश्वको सबैभन्दा उत्तम गन्तव्यको रूपमा सूचीकृत समेत गरेको थियो। यो क्षेत्रमा मात्रै ५०० भन्दा बढी प्रजातिका खपटा हुने जीवहरू पाइन्छ। तुलनात्मक रूपमा भन्दा यो सङ्ख्या पूरै क्यारेबियाली क्षेत्रमा पाइने यस्ता जीवहरूभन्दा सात गुणा बढी हो।
केदारनाथ, भारत
यदि तपाईँहरू यो बिदामा तीर्थयात्रा जाने सोचिरहनु भएको छ र कहाँ जाने भन्ने बारे अन्योलमा हुनुहुन्छ भने ‘केदारनाथ’ उपयुक्त गन्तव्य हुन सक्छ। केदारनाथ मन्दिर हिन्दुहरूको एउटा पवित्र तीर्थस्थल हो। यो भारतको उत्तराखण्डको केदारनाथमा अवस्थित छ। केदारनाथ मन्दिर भगवान् शिवलाई समर्पित एक हिन्दु मन्दिर हो। यो १२ ज्योतिर्लिङ्ग (शिवका पवित्र तीर्थस्थलहरू) मध्ये एक हो।
उत्तराखण्ड राज्यको गढवाल हिमालय पर्वत शृङ्खलामा अवस्थित यो मन्दिर मन्दाकिनी नदीको किनारमा करिब ११ हजार ७५० फिट को उचाइमा रहेको छ। यस मन्दिरको कथासँग शताब्दी यौँ पुराना किंवदन्ती, पौराणिक कथा र ऐतिहासिक महत्त्व जोडिएका छन्। यसको उत्पत्ति पाण्डवहरूसँग जोडिएको छ। ऐतिहासिक प्रमाणका आधारमा, आठौँ शताब्दीमा आदि शङ्कराचार्यले यस मन्दिरको पुनर्निर्माण गरेका थिए।
राइन फल्स, स्वीट्जरल्यान्ड
स्वीट्जरल्यान्ड पर्यटकीय दृष्टिकोणले एक सुन्दर, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो। स्वीट्जरल्यान्ड मध्य युरोपमा पर्छ। यसले विश्वको कुल १५ हजार २५५ वर्ग माइल क्षेत्रफल ओगटेको छ। क्षेत्रफलको हिसाबले सानो देश भए पनि प्राकृतिक दृष्टिकोणले अत्यन्तै सुन्दर, पहाडी र भूपरिवेष्टित देश हो। स्वीट्जरल्यान्ड उच्च गुणस्तरीय जीवनस्तर, मजबुत अर्थतन्त्र, प्राकृतिक सौन्दर्य र तटस्थताका लागि विश्वभर प्रसिद्ध छ। यहाँ घुम्नका लागि जेनेभा, जुरिच, लौसाने, ग्रिन्डेल्वाल्ड, राइन फल्स पर्यटकीय हिसाबले चर्चित छन्। यसमध्येको राइन फल्स घुम्नका लागि उत्कृष्ट गन्तव्य हुन सक्छ।
राइन फल्स युरोप महादेशकै सबैभन्दा ठुलो र आकर्षक झरना हो। यो उत्तरी स्वीट्जरल्यान्ड को शाफहाउजेन र जुरिच क्यान्टनको सिमानामा रहेको छ। यो झरना करिब १५ हजारदेखि १७ हजार वर्ष अघि प्रतिरोधी चट्टानहरूले नदीको बहाव क्षेत्रलाई साँघुरो बनाएपछि बनेको हो। यो अत्यन्तै सुन्दर र ठुला झरनाहरूमध्येको एक हो। राइन फल्सको बीचमा एउटा विशाल प्राकृतिक चट्टान छ। पर्यटकहरू डुङ्गा चढेर यो चट्टानसम्म पुग्न सक्छन् र त्यहाँ निर्मित सिँढीहरूबाट माथि चढेर झरनाको बीचैबाट पानीको भयानक वेगलाई नजिकैबाट हेर्ने सकिन्छ।
थाइल्यान्ड
नेपालीहरू अन्तर्राष्ट्रिय ‘ट्रिप’ मध्ये सबैभन्दा धेरै जाने देशमध्ये थाइल्यान्ड पर्छ। थाइल्यान्ड दुरीको हिसाबले नजिक र बजेटको हिसाबले सस्तो पनि छ। थाइल्यान्डका बैंकक, फुकेट, पटाया जस्ता घुम्नका लागि चर्चित ठाउँहरू छन्। जस्तै, थाइल्यान्डको राजधानी बैंकक किनमेल र संस्कृतिका लागि चर्चित छ। त्यस्तै, सुन्दर टापु र समुद्री तट हेर्न मन पर्ने व्यक्ति हरूका लागि फुकेट उत्कृष्ट गन्तव्य हुन सक्छ। यो थाइल्यान्डको सबैभन्दा ठुलो टापु हो। त्यसैगरी, पट्टया रात्रिकालीन जीवन र मनोरञ्जनका लागि उत्कृष्ट स्थान हो।
सिंगापुर
सिंगापुर एसिया महादेशमध्येकै घुमफिर गर्न चाहने पर्यटकहरूका लागि उत्कृष्ट देश हो। क्षेत्रफल र जनसङ्ख्याका हिसाबले यो देश निकै सानो भएपनि सिंगापुरमा कूल जनसङ्ख्या भन्दा धेरै त्यहाँ आउने पर्यटकको सङ्ख्या रहने गरेको छ। सिंगापुर ‘सहरी बगैँचा’को नामले चर्चित छ। सिंगापुरलाई विश्वकै सुरक्षित, व्यवस्थित पर्यटकीय गन्तव्यको रूपमा लिन सकिन्छ। गार्डेन्स बाई द बे, युनिभर्सल स्टुडियोज सिंगापुर, ज्वैल चाङ्गी विमानस्थल, नाइट सफारी जस्ता ठाँउहरु पर्यटकीय हिसाबले चर्चित छन्।
गार्डेन्स बाई द बे सिंगापुरको सबैभन्दा चर्चित कृत्रिम प्रकृतिको नमुना हो। त्यहाँ राति अचम्मको लाइट ‘सो’ हुन्छ। त्यस्तै, युनिभर्सल स्टुडियोज सिंगापुर सेन्तोसा टापुमा रहेको दक्षिण–पूर्वी एसियाकै पहिलो र एक मात्र युनिभर्सल स्टुडियो थिम पार्क हो। यहाँबाट पर्यटकहरूले हलिउड चलचित्रहरूमा आधारित अत्याधुनिक रोलर कोस्टर र थ्रीडी राइडहरूको आनन्द लिन सक्छन्। त्यसै गरी सिंगापुरमा रहेको पर्यटकीय हिसाबले चर्चित ठाउँ ज्वैल चाङ्गी विमानस्थल हो। यो केवल एउटा विमानस्थल मात्र नभएर संसारकै उत्कृष्ट पर्यटकीय केन्द्र र सपिङ मल पनि हो।
माल्दिभ्स
मालदिभ्स हिन्दु माहासागरमा रहेको एउटा सुन्दर टापुको देश हो। यो देश सुन्दर टापु, सेता र बालुवाले भरिएका समुन्द्री किनारा, सफा र स्वच्छ सहरको देश हो। यहाँ घुम्न आउने पर्यटकहरूले वाटर भिल्ला, स्कुबा डाइभिङ र स्नोर्कलिङ, सनसेट क्रुज र डल्फिन हेराईको आनन्द लिन सकिन्छ।यहाँबाट ठुला ठुला रिसोर्टमा बसेर झ्यालबाटै सिधै समुद्रको नीलो पानी र माछाहरू हेर्ने सकिन्छ। रोमाञ्चक गतिविधि मन पराउनेहरूका लागि जेट स्की, प्यारासेलिङ, सर्फिङ, र कयाकिङ जस्ता थुप्रै पानीमा खेलिने खेलहरूको आनन्द पनि लिन सकिन्छ। समुद्री किनारमा आराममा सफा र सेतो बालुवामा घाम ताप्दै समुद्रको शीतल हावाको आनन्द लिन सकिन्छ। साँझपख बोटमा चढेर ‘सन सेट’ को दृश्य हेर्नु र समुद्रमा उफ्रिरहेका डल्फिनहरू हेर्न सकिन्छ।
बुर्ज खलीफा, दुबई
नेपालीहरू लामो बिदामा घुम्न जाने अन्तर्राष्ट्रिय देश मध्ये दुबई (यूएई) एक हो। यदि तपाईँहरू पनि यो बिदामा अन्तर्राष्ट्रिय ट्रीपका लागि कम खर्च मै घुम्न जाने सोच्दै हुनुहुन्छ भने दुबई पनि तपाईँका लागि एउटा सुन्दर गन्तव्य हुन सक्छन्। तपाईँहरूलाई उचाइमा बसेर सहर हेर्ने इच्छा छ भने दुबईको बुर्ज खलीफा तपाईँका लागि उत्तम विकल्प हुनसक्छ। यो संसारकै सबैभन्दा अग्लो भवन हो। यसको उचाइ ८ सय २८ मिटर छ।
यहाँबाट दुबईको गगनचुम्बी भवन, आधुनिक सहर र वरपरको मनोरम दृश्य सजिलै हेर्न सकिन्छ। त्यसै गरी तपाईँले दुबईमा समुद्री किनारा (बीच) को मनोरञ्जन पनि लिन सक्नुहुन्छ। दुबई डेजर्ट सफारीका लागि पनि प्रसिद्ध छ। दुबईमा समुद्री किनारादेखि अग्ला सहर, मर भूमिमा डेजर्ट सफारीदेखि ठुला ठुला गार्डेन र आकर्षक संरचनाहरूकोे मनोरम दृश्यहरू हेर्ने सकिन्छ।
यी हुन् नेपालका पाँच चर्चित गन्तव्य
मुस्ताङ
पर्यटकीय हिसाबले मुस्ताङ नेपालको निकै प्रसिद्ध ठाउँ हो। धार्मिक रूपमा पनि प्रसिद्ध रहेको यस क्षेत्रमा हिन्दु र बौद्ध धर्मावलम्बीहरू बढी जाने गर्छन्। मुस्ताङ हिमाली जिल्ला, प्राचीन तिब्बती संस्कृति, अनौठो भूबनोट र शान्त वातावरणका लागि विश्व प्रसिद्ध छ। यस ठाँउमा एक हजार वर्ष पुराना गुफाहरूमा प्राचीन चित्रकला र धार्मिक वस्तुहरू छन्। जसकारण इतिहास प्रेमीहरूका लागि यो ठाउँ उत्कृष्ट छ।
लोमान्थाङको किल्ला र सम्पदा क्षेत्रहरू पनि रहेका छन्। मुस्ताङको सबैभन्दा होचो स्थान समुद्री सतहदेखि १ हजार ६ सय ४० र सबैभन्दा अग्लो निलगिरि नर्थ ७ हजार ६१ मिटरको छ। कालीगण्डकी नदीको एकल जलाधारमा समेटिएको मुस्ताङको उत्तरी भाग तिब्बती पठारको हिस्सा हो। मुस्ताङको अधिकांश भाग सुक्खा बालुवाले ढाकिएको छ। मुस्ताङ प्राकृतीमा रमाउन मन पराउने, साहसिक यात्रा र प्राचीन संस्कृति मन पराउने व्यक्तिका लागि यात्रा गर्छ उपयुक्त ठाँउ हो।
पाँचपोखरी, सिन्धुपाल्चोक
पाँच पोखरी सिन्धुपाल्चोक जिल्लाको थाङपाल गाउँपालिकामा पर्छ। यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य हो। समुद्री सतहदेखि ४१५० मिटरको उचाइमा रहेको यो यो स्थान पाँच पटा पोखरीले चर्चित छ। चारैतिर पहाड र हिमालले घेरिएको यो स्थान प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। विशेष गरी पाँच पोखरी हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साभा आस्थाको केन्द्र हो। यस क्षेत्रबाट जुगल, गौरीशङ्कर र दोर्जेलाक्पा लगायत हिमशृङ्खलाको दृश्य अवलोकन गर्न सकिन्छ। धार्मिक तथा प्राकृतिक सुन्दरताका लागि परिचित पाँच पोखरीमा पदयात्रा, फोटोग्राफी र प्रकृतिको अवलोकन गर्न सकिन्छ। पाँच पोखरीमा जनै पूर्णिमाको अवसरमा मेला लाग्ने भएकाले धार्मिक पर्यटकको समेत आकर्षण रहने गरेको छ।
रारा ताल, मुगु
रारा ताल नेपालको कर्णाली प्रदेशको मुगु जिल्लामा पर्छ। रारा ताल नेपालको सबैभन्दा ठुलो र गहिरो ताल हो। यो ताल समुद्र सतहदेखि करिब २ हजार ९७२ मिटर उचाइमा अवस्थित छ। मुगु जिल्लाको सदरमुकाम गमगढीबाट परिश्रम तर्फ करिब ३ घण्टाको पैदल यात्रा गरेपछि रारा ताल पुग्न सकिन्छ। रारा ताल रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले यो ठाउँलाई थप मोहित बनाएको छ। यो तालमा संसारमा कहीँ नपाइने ‘असला’ माछा पाइन्छ। रारा राष्ट्रिय निकुञ्जमा विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गी पाइने भएकाले यो स्थान प्रकृति प्रेमीका लागि उत्कृष्ट गन्तव्य हो।
घान्द्रुक, कास्की
घान्द्रुक कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्छ। घान्द्रुक प्राकृतिक सुन्दरता, गुरुङ संस्कृति र हिमाली दृश्यका लागि प्रसिद्ध छ। यो समुन्द्री सतहदेखि १९४० मिटरको उचाइ छ। परम्परागत ढुङ्गे घर, मौलिक रहनसहन र अन्नपूर्ण तथा माछापुच्छ्रे हिमालको दृश्यले यस क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्य बनाएका छन्। घान्द्रुक गुरुङ गाउँ भएकाले यहाँ गुरुङ सङ्ग्रहालय रहेको छ। यहाँबाट अन्नपूर्ण साउथ, गङ्गापूर्ण, अन्नपूर्ण तेस्रो, हिउँचुली र माछापुच्छ्रे हिमालको उत्कृष्ट दृश्य अवलोकन गर्न सकिन्छ। घान्द्रुकमा संस्कृति अवलोकन गर्न, होमस्टेमा बस्न र पदयात्रा गर्न सकिन्छ।
कन्याम, इलाम
पूर्वी नेपालको कोसी प्रदेश इलाम जिल्लामा पर्ने चिया बगानहरू चिया खेतीका लागि मात्रै नभएर पर्यटकीय हिसाबले पनि प्रसिद्ध छ। इलाम चियाबारी, हरिया डाँडाकाँडा र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। चियाबारी चियाको राजधानीका रूपमा समेत प्रसिद्ध छ। इलामका चियाबारीमा घुम्न, स्थानीय चियाको स्वाद लिन र प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ। हरिया गलैँचा जस्ता पहाडले यस क्षेत्रको सुन्दरतालाई थप बढाएको छ। यहाँबाट सूर्योदय र सूर्यास्तका लागि प्रसिद्ध अन्तु डाँडा तथा चियाबारीले घेरिएका पहाडी बस्ती, कुहिरोले ढाकिएका डाँडाकाँडाको दृश्य हेर्न सकिन्छ।






About Us
प्रतिक्रिया