दीपक भट्टले चोलेन्द्र शमशेरसँग फोन संवाद गरेका छैनन्: चतुर्भुज भट्ट


काठमाडौं – दीपक भट्टका बुबा चर्तुर्भुज भट्टले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई फोन गरी आफ्नो मुद्दामा चलखेल गर्न अनुरोध गरेको भन्ने समाचारको खण्डन गरेका छन्। उनले बैंकिङ्ग न्युज एन्ड पब्लिकेसन प्रालिमा असोज १० गते प्रकाशित समाचारमा ध्यानाकर्षण गराएका हुन्। 

खण्डन तथा प्रतिक्रियामा भट्टको तर्फबाट उक्त समाचारमा उल्लेखित विषयवस्तु यथार्थ नभएको दाबी गरिएको छ। उनले भट्टले नख्खु कारागारबाट राणालाई फोन सम्पर्क गरी मुद्दामा चलखेल गर्न खोजेको भन्ने आरोप अस्वीकार गरेका छन्। खण्डनमा भनिएको छ, ‘दीपक भट्टले पुर्पक्षका लागि थुनामा राखिएको नख्खु कारागारबाट पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई फोन सम्पर्क गरी मुद्दामा चलखेल गर्न खोजेका होइनन् गरेका पनि छैन।’

भट्ट अदालतबाट न्याय प्राप्त हुने विषयमा निश्चिन्त रहेको पनि खण्डनमा उल्लेख छ। सम्पत्ति शुद्धीकरण तथा बैंकिङ्ग कसुरसम्बन्धी आरोपमा आफूले कसुर नगरेको भनी अनुसन्धान अधिकारी, विशेष अदालत र उच्च अदालत पाटनसमक्ष बयान दिएको उनले बताएका छन्। त्यसैगरी, बीमा सम्बन्धी तथा धितो पत्रसम्बन्धी कसुरमा पनि आफू संलग्न नरहेको भनी अनुसन्धान अधिकारी र काठमाडौं जिल्ला अदालतमा बयान दिएको खण्डनमा जनाइएको छ।

कारागारमा रहेका व्यक्तिले तोकिएको स्थान र समयमा मात्रै फोन सम्पर्क गर्न सक्ने र ह्वाट्सएपलगायतका माध्यम प्रयोग गर्न नपाउने व्यवस्था रहेको दाबी गर्दै भट्टले राणालाई फोन गरेको भन्ने समाचार असत्य भएको उनले बताएका छन्।