बैंकिङ्ग कसुर मुद्दामा २ वर्ष कैद तोकिएकी शर्मिला अधिकारी पक्राउ 


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा २ वर्ष कैद तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका घर भई काठमाडौंको कीर्तिपुर बस्ने शर्मिला अधिकारी रहेकी छिन्। 

काठमाडौं जिल्ला अदालत बबरमहलले उनीमाथि ४ लाख ४० हजार बिगो रहेको बैंकिङ्ग कसुर मुद्दामा दुई कैद सजाय फैसला गरेको थियो। अदालतको पक्राउ पुँजी जारी भएपछि फरार  रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा जिल्ला काठमाडौं कीर्तिपुर– ६ बाट पक्राउ गरेको छ।

उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत बबरमहलमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।