काठमाडौं – अनलाइन माध्यमबाट बैंक तथा ई–सेवाको कर्मचारी भएको भन्दै केवाईसी अपडेट गर्ने बहानामा सेवाग्राहीबाट ४९ लाख ८७ हजार रुपैयाँभन्दा बढी ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य, सीतामढी जिल्ला, बैरगनिया घर भई गौर नगरपालिका–०३ मा डेरा गरी बस्ने २४ वर्षीय मो. साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका –०५ बस्ने १८ वर्षीय नितेश कुशवाहा रहेका छन्।
प्रहरीले गौर नगरपालिका –०३ पोखरिया टोल र वडा नं– ५ कोईरी टोलबाट उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूले विभिन्न बैंक तथा ई–सेवाका कर्मचारी भएको भन्दै सेवाग्राहीलाई फोन तथा भिडियो कल गरी मोबाइलको स्क्रिन शेयर गर्न लगाउने र ओटीपी लगायतका बैंकिङ्ग विवरण प्राप्त गर्ने गरेका थिए। त्यसपछि सेवाग्राहीको बैंक तथा वालेट खाताबाट रकम अनधिकृत रूपमा स्थानान्तरण गरी ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उनीहरूको साथबाट नेपाली रुपैयाँ १ लाख ६२ हजार २१०, भारतीय रुपैयाँ ३ हजार २३६, मोबाइल फोन ७ थान, सिम कार्ड ११ थान, विभिन्न बैंक तथा वित्तीय संस्थाका डिपोजिट भौचर ३० थान, एटिएम कार्ड ३ थान र चेक २ थान बरामद गरिएको छ। बरामद चेकमध्ये प्रभु बैंकको १६ हजार रुपैयाँको र ग्लोबल आईएमई बैंकको २० लाख रुपैयाँको चेक रहेका छन्। यसका साथै चेक बुक, डायरी, कपी, पेनड्राइभ, मेमोरी कार्ड तथा बैंकिङ्ग विवरण लेखिएका पर्चालगायतका सामग्रीसमेत बरामद गरिएको छ।
हालसम्म केवाईसी अपडेट गर्ने बहानामा ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको खुल्न आएको छ। पक्राउ परेका तीनै जनामाथि ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।






About Us
प्रतिक्रिया