काठमाडौं – सशस्त्र प्रहरी परिवार महिला संघले भोटेकोसी बाढीबाट प्रभावित सशस्त्र प्रहरी कर्मचारी, उनीहरूका आश्रित परिवार तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम हस्तान्तरण गरेको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सङ्घकी अध्यक्ष श्रीमती सावित्रा कुमारी पौडेलले बाढीमा बेपत्ता भएका सशस्त्र प्रहरी कर्मचारीका परिवार, परिवारका सदस्य बेपत्ता भएका कर्मचारी तथा घाइते अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम हस्तान्तरण गरेकी हुन्।
उक्त बाढीमा बहालवाला १३ जना र अवकाशप्राप्त एक जना गरी १४ जना सशस्त्र प्रहरी कर्मचारी बेपत्ता भएका थिए। साथै, एक जना अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी घाइते भएका थिए भने दुई जना सशस्त्र प्रहरी कर्मचारीका परिवारका सदस्यसमेत बेपत्ता भएका थिए।संघले बेपत्ता भएका बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई जनही २५ हजार रुपैयाँ, परिवारका सदस्य बेपत्ता भएका सशस्त्र प्रहरी कर्मचारीलाई जनही १० हजार रुपैयाँ र घाइते अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई १० हजार रुपैयाँ राहत उपलब्ध गराएको हो।
अध्यक्ष पौडेलले बेपत्ता सशस्त्र प्रहरी सहायक हवलदार कृष्णकुमार कार्की, आशिष पौडेल र जवान साजन कुँवरका परिवार तथा अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक बलबहादुर घर्ती मगरका परिवारलाई राहत रकम हस्तान्तरण गरेकी थिइन्। त्यसैगरी, परिवारका सदस्य बेपत्ता भएका दुई जना महिला सशस्त्र प्रहरी कर्मचारीलाई समेत राहत रकम प्रदान गरिएको छ। बाढीमा बेपत्ता भएका अन्य सशस्त्र प्रहरी कर्मचारीका परिवारजनसँग भेट गरी राहत रकम उपलब्ध गराइने संघले जनाएको छ। यसैबीच, अध्यक्ष पौडेलले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा रहेको विपद् कोषमा जम्मा गर्न ५० हजार ५ सय ५५ रुपैयाँ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अन्जनीकुमार पोखरेललाई हस्तान्तरण गरेकी छन्।






About Us
प्रतिक्रिया