अर्थमन्त्री स्वर्णिम वाग्ले विश्व बैंक र आईएमएफको बैठकमा सहभागी हुन बैंकक जाँदै


काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गर्दै छन्। उनी मंगलबार दिउँसो १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयरलाइन्सको विमानमार्फत बैंककतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

विश्वभरका अर्थमन्त्री तथा उच्च सरकारी प्रतिनिधिहरू सहभागी हुने उक्त वार्षिक बैठकका क्रममा अर्थमन्त्री डा. वाग्लेले १६ भन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागी हुने कार्यक्रम तय भएको छ। बैठकका क्रममा नेपालको अर्थतन्त्र, विकास साझेदारी, लगानी, वित्तीय सहयोग तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा विभिन्न पक्षसँग छलफल हुने अपेक्षा गरिएको छ।

बैठकमा सहभागी हुन अर्थसचिव डा. घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी तथा अधिकृत गजेन्द्र भट्टराई पनि बैंककतर्फ प्रस्थान गर्नेछन्।अर्थमन्त्री डा. वाग्लेको भ्रमण कात्तिक ४ गतेसम्म रहनेछ भने त्यसै दिन नेपाल फर्कने कार्यक्रम रहेको छ।