सेबोनद्वारा प्राइभेट इक्विटी र भेन्चर क्यापिटलसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राइभेट इक्विटी र भेन्चर क्यापिटलसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। बोर्डले नेपालको आर्थिक रूपान्तरण, उद्यमशीलता प्रवर्द्धन तथा पूँजी बजारको दिगो विकासका लागि दीर्घकालीन पूँजीको उपलब्धता अभिवृद्धि गर्ने उद्देश्यले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल क्षेत्रसम्बन्धी विस्तृत अध्ययन सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेको हो।

नेपाल सरकारको चालु आर्थिक वर्ष २०८३/८४ को बजेट, अर्थ मन्त्रालयको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ र बोर्डको वार्षिक नीति कार्यान्वयनका क्रममा सरोकारवालाहरूको राय सुझाव तथा सुधारका क्षेत्र पहिचान गर्न बोर्डले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो।

बोर्डका अनुसार अध्ययनले पीईभीसी लाई विशिष्टीकृत लगानी कोषका रूपमा मात्र नभई उद्यमशीलता, नवप्रवर्तन, रोजगारी सिर्जना, विदेशी पूँजी आकर्षण तथा सार्वजनिक पूँजी बजारको विस्तारसँग जोडिएको आर्थिक विकासको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिएको छ।

अन्तर्राष्ट्रिय अभ्यासको अध्ययनका आधारमा जोखिममा आधारित नियमन, लगानीकर्ता संरक्षण, सुशासन, पारदर्शिता, सम्पत्ति संरक्षण, योग्य लगानीकर्ता वर्गीकरण तथा डिजिटल सुपरिवेक्षण प्रणालीलाई भावी नियामकीय सुधारका प्रमुख आधारका रूपमा लिइएको बोर्डले जनाएको छ।