काठमाडौं – बुढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भई काठमाडौंको कपन बस्दै आएका ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ घर भई कपन बस्दै आएका ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे रहेका छन्।
विद्यालय परिसरमा शिक्षकमाथि कुटपिट भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले घटनास्थलमा पुगेर जाँच गरेको थियो। सो क्रममा दाहालले विद्यालयमा कार्यरत महिला शिक्षिकालाई लक्षित गरी अश्लील तथा अपशब्द प्रयोग गर्ने, गालीगलौज गर्ने र धाकधम्की दिने जस्ता अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ।
त्यसैगरी, घिमिरेको निर्देशनमा विद्यालयका प्रधानाध्यापकमाथि मुक्का तथा लात्ती प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनीहरूलाई नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको छ।






About Us
प्रतिक्रिया