बुढीगण्डकी बाढीः जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार


काठमाडौं – पहिरोको जोखिममा रहेको गोरखाको जगत इलाकाबाट ६ जनालाई हेलिकप्टरमार्फत हवाई उद्धार गरिएको छ। नेपाली सेनाले हवाई तथा स्थलमार्गबाट उद्धार कार्य सञ्चालन गर्दै पहिरोको जोखिममा रहेको क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरेको हाे।

बुढीगण्डकी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। नेपाली सेनाको फौज हवाई तथा स्थलमार्गबाट परिचालन भई बाढी र पहिरोको जोखिममा रहेका नागरिकको उद्धार तथा सुरक्षित स्थानान्तरणमा जुटेको छ।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन काठमाडौंमा रहेको कम्पोजिट क्विक रियाक्सन टिम समेत हवाई साधनमार्फत उक्त क्षेत्रमा तैनाथ गरिएको छ। बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टरहरू परिचालन गरिएका छन्।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रका नागरिकलाई सतर्क रहन, सुरक्षित स्थानमा जान र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरिएको छ।