काठमाडौं – सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका दीपक भट्टका पिता चतुर्भुज भट्टले आफ्नो छोराको मानव अधिकार, संविधान प्रदत्त मौलिक हक तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षणको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन्। शुक्रबार जारी प्रेस विज्ञप्तिअनुसार चतुर्भुज भट्टले पुल्चोकस्थित आयोगमा निवेदन दर्ता गराउँदै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित सामग्रीले विचाराधीन मुद्दामा रहेका आफ्नो छोरालाई दोषीका रूपमा चित्रण गरिएको, चरित्रहत्या गरिएको तथा निष्पक्ष न्याय पाउने अधिकार प्रभावित भएको दाबी गरेका छन्।
विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा दीपकलाई दोषीका रूपमा चित्रण गर्ने सामग्री सार्वजनिक भइरहेको भन्दै उनले आपत्ति जनाएका छन्। विशेषगरी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग फोन सम्पर्क गरी विचाराधीन मुद्दामा चलखेल गर्न अनुरोध गरेको भन्ने विषयमा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर असहमति रहेको उनले बताएका छन्।
विचाराधीन मुद्दामा न्यायिक प्रक्रियाको सम्मान गर्दै सत्यतथ्यका आधारमा समाचार सम्प्रेषण हुनुपर्ने उल्लेख गर्दै भट्टले भ्रामक सामग्रीले छोराको प्रतिष्ठा र निष्पक्ष न्याय पाउने अधिकारमा असर पारिरहेको दाबी गरेका छन्। यसैबीच, दीपकलाई गत असोज १७ गते नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा सरुवा गरिएको विषयमा पनि चतुर्भुज भट्टले प्रश्न उठाएका छन्।
छोराविरुद्धका मुद्दा काठमाडौं जिल्ला अदालत, विशेष अदालत तथा उच्च अदालत पाटनमा विचाराधीन रहेको अवस्थामा सरुवाको आधार, कारण र निर्णय प्रक्रियाबारे आफूलाई कुनै जानकारी नदिइएको उनको भनाइ छ। मुद्दा दायर नभएको जिल्लास्थित कारागारमा गरिएको सरुवाको औचित्य र आवश्यकताबारे स्पष्ट पार्नुपर्ने माग गर्दै उनले यसबाट न्यायिक प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्न सक्ने तथा परिवारको मानसिक पीडा थप बढेको बताएका छन्।
राष्ट्रिय मानव अधिकार आयोगमा दर्ता गरिएको निवेदनमार्फत सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको सत्यतथ्य छानबिन गर्न, कारागार सरुवासम्बन्धी निर्णय, आधार, कारण तथा सम्बन्धित कागजात अध्ययन गर्न र आवश्यकताअनुसार स्थलगत अनुगमन गर्न माग गरिएको छ। साथै, दीपकको मानव अधिकार तथा संविधानप्रदत्त मौलिक हकको संरक्षणका लागि आवश्यक पहल गर्न र कारागार सरुवाको औचित्यसमेत विचार गरी उनलाई नख्खु कारागारमा फिर्ता ल्याउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन आयोगसँग आग्रह गरिएको छ।
विज्ञप्तिमा विशेषगरी पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग सम्पर्क गरी विचाराधीन मुद्दामा चलखेल गर्न अनुरोध गरेको भन्ने विषयमा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाइएको छ। थुनामा रहेका व्यक्तिले गर्नै नसक्ने कार्यलाई सत्यजस्तै प्रस्तुत गरिएको भन्दै त्यस्ता सामग्रीले सामाजिक प्रतिष्ठामात्र होइन, न्यायिक प्रक्रियामा समेत प्रतिकूल प्रभाव पार्ने दाबी गरिएको छ।
त्यसैगरी, कारागारबाट फोन गरेको लगायतका विषयमा आफूले गलत ठानेका समाचार प्रकाशन गर्ने सञ्चारमाध्यम तथा प्रेस काउन्सिल नेपालमा पनि पत्रकार आचारसंहिता र कानुनी व्यवस्थाअनुसार आवश्यक कारबाहीको माग गर्दै निवेदन दिइएको जनाइएको छ। राष्ट्रिय मानव अधिकार आयोगसमक्ष दर्ता गरिएको निवेदनमार्फत सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको सत्यतथ्य छानबिन गर्न, कारागार सरुवासम्बन्धी निर्णय, आधार र कागजातको अध्ययन गर्न, आवश्यक परे स्थलगत अनुगमन गर्न तथा दीपक भट्टको मानव अधिकार र मौलिक हकको संरक्षणका लागि आवश्यक पहल गर्न अनुरोध गरिएको छ। साथै, सरुवाको औचित्य पुनरावलोकन गरी उनलाई पुनः नख्खु कारागारमै फर्काउने विषयमा सम्बन्धित निकायलाई निर्देशन दिन पनि माग गरिएको छ।






About Us
प्रतिक्रिया