काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवा बिक्री गर्ने विक्रेता व्यवसायीलाई पनि नगद पुरस्कार दिने व्यवस्था गर्न निर्देशन दिएका छन्। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित राजस्व समीक्षा बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले आन्तरिक राजस्व विभागलाई कार्यविधि संशोधन गरी विक्रेता व्यवसायीलाई समेत प्रोत्साहन पुरस्कार दिने व्यवस्था गर्न निर्देशन दिएका हुन्।
सरकारले चालु आर्थिक वर्षदेखि बिल लिने संस्कारको विकास गर्दै औपचारिक अर्थतन्त्रलाई प्रोत्साहन गर्ने उद्देश्यले उपभोक्तालाई बिल लिएबापत नगद पुरस्कार प्रदान गर्दै आएको छ। उक्त कार्यक्रमबाट बिल लिने प्रवृत्तिमा वृद्धि हुनुका साथै राजस्व सङ्कलनमा समेत सकारात्मक प्रभाव परेको देखिएपछि विक्रेता व्यवसायीलाई पनि प्रोत्साहन गर्नुपर्ने निष्कर्षमा अर्थमन्त्री पुगेका हुन्।
बिल लिने संस्कार विकास हुँदै गएपनि विक्रेताले बिल जारी गर्न हिचकिचाउने गरेको गुनासो आएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले बिल जारी गर्ने व्यवसायीलाई समेत प्रोत्साहन गर्नुपर्ने बताए। ‘बिल लिनुपर्छ भन्ने त व्यापक देखियो। तर, बिल जारी गर्नुपर्छ भन्नेलाई पनि प्रोत्साहनको नीति लिन जरुरी देखियो,’ उनले भने, ‘कार्यविधि संशोधन गरेर प्रस्ताव लिएर आउनुहोस्। कति रकम कसरी दिन सकिन्छ, जसले उहाँहरूलाई पनि बिल जारी गर्न झन्झट नहोस्।’
बिल लिने मात्र नभई बिल जारी गर्ने संस्कारको विकास गर्न पनि आवश्यक रहेको उनको भनाइ थियो। सरकारले साउन १ गतेदेखि सुरु गरेको करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमअन्तर्गत बिल नम्बरका आधारमा प्रत्येक १५ दिनमा पुरस्कार घोषणा गर्दै आएको छ। कार्यक्रमअनुसार दैनिक एक जनालाई एक लाख ३४ हजार रुपैयाँ र बम्पर उपहारस्वरूप एक जनालाई १० लाख रुपैयाँ प्रदान गरिन्छ। आकस्मिक लाभकर कट्टीपछि दैनिक पुरस्कार विजेताले एक लाख रुपैयाँ र बम्पर विजेताले सात लाख ५० हजार रुपैयाँ प्राप्त गर्छन्।
हालसम्म साउन १ गतेदेखि असोज १५ गतेसम्म पाक्षिक रुपमा पाँच वटा उपहार घोषणा भएर विजेतालाई नगद उपहार प्रदान गरिसकिएको छ। जसमा ७४ जनाले जनही एक लाख रुपैयाँ र पाँच जनाले बम्पर उपहारमा ७ लाख ५० हजार रुपैयाँ जितिसक्नुभएको छ। अब विभागले बेलैमा कार्यविधिमा व्यवस्था गरेको अवस्थामा असोजको दोस्रो पाक्षिक (असोज १६ देखि मसान्त) को पुरस्कार घोषणामा विक्रेताका लागि पनि पुरस्कार घोषणा हुनेछ। पुरस्कार प्रोत्साहन रकम उपभोक्ताको जत्तिको ठूलो नहुने स्पष्ट छ तर रकम कति हुने भन्ने यकिन भइसकेको छैन्।
प्रोत्साहन पुरस्कारमा सहभागी हुन उपभोक्ताले वस्तु खरिद गर्दा अनिवार्य रुपमा सक्कल प्यान वा भ्याट बिल लिनुपर्छ। अनलाइनबाट खरिदको रकम भुक्त्तानी गरेका उपभोक्ता स्वत: पुरस्कारका लागि योग्य हुन्छन् भने नगदमा कारोबार गरेर बिल लिएका उपभोक्ताले आन्तरिक राजश्व विभागको करदाता पुरस्कार पोर्टलमा दिइएको लिङ्क खोलेर बिल अपलोड गर्न सकिन्छ।






About Us
प्रतिक्रिया