काठमाडौं – फिनटेक अलायन्स नेपालका अध्यक्ष अमित अग्रवालले नेपाल डिजिटलरुपमा ठुलो फड्को मार्ने तरखरमा रहेको बताएका छन्। आजदेखि सुरु भएको दोस्रो संस्करणको ‘फिनटेक एक्स्पो २०२६’लाई सम्बोधन गर्दै अग्रवालले नेपाल डिजिटलरुपमा फड्को मार्ने तरखरमा रहेको बताएका हुन्।
उनले झण्डै २ करोड जनसंख्या राष्ट्रिय परिचयपत्रको दायरामा आइसकेको बताए। कूल जनसंख्या ३ करोड रहेको देशमा २ करोड जनसंख्याले राष्ट्रिय परिचयपत्र बनाइसकेको उनको भनाई छ। यो तथ्यांकलाई भविष्यमा बैंक तथा वित्तीय संस्था, मोबाइल वालेट, स्वास्थ्य र शिक्षा लगायत सबै क्षेत्रमा प्रयोग गर्न सुरु हुन साथ डिजिटलरुपमा नेपालले फड्को मार्ने उनको भनाई छ।
‘बायोमेट्रिकसहित २० मिलियन राष्ट्रिय परिचयपत्र बनेको छ। यो ठुलो सफलता हो,’ उनले भने, ‘यसलाई नेपाल अहिले ट्रान्जिसन फेजमा छ भन्न सकिन्छ।’ यस्तै, उनले यतिबेला देशमा लगानीको वातावरण बन्दै गइरहेको समेत बताए। बैंकमा १४ खर्ब रुपैयाँभन्दा धेरै लगानीयोग्य रकम थुप्रिएको र ब्याजदर न्यून स्थितिमा रहेको उनको भनाई छ। यद्यपि, यो कर्जायोग्य रकम प्रवाह हुन नसक्नु चाहिँ समस्याकारुपमा रहेको अग्रवाल बताउँछन्।






About Us
प्रतिक्रिया