काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणबारे गृहकार्य भइरहेको तर भ्रमणको मिति तय भइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको जानकारी दिए। उनका अनुसार नेपाल र भारत दुवै पक्षलाई अनुकूल हुने समयमा भ्रमण हुनेछ।
‘दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्रीज्यूको भ्रमण हुने नै छ,’ प्रवक्ता क्षेत्रीले भने, ‘उच्चस्तरीय भ्रमणको तयारी परराष्ट्र मन्त्रालयबाट भइरहेकै हुन्छ। भ्रमणको मिति तय भइरहेको छैन।’
यसअघि परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल गर्ने गरी एजेन्डा तयार पार्ने काम भइरहेको जनाएको थियो। प्रवक्ता क्षेत्रीले अन्य उच्चस्तरीय भ्रमणको तयारी तथा त्यसका एजेन्डामाथि पनि मन्त्रालयले काम गरिरहेको जानकारी दिए।






About Us
प्रतिक्रिया