एआई, युवा उद्यमशीलता र रोजगारीमा केन्द्रित सम्मेलन सुरु


काठमाडौं – नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३ आजदेखि काठमाडौंमा सुरु भएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) र नेपाल बिजनेस इन्ष्टिच्युट (एनबीआई) को सहकार्यमा आयोजित सम्मेलन कृत्रिम बुद्धिमत्ता (एआई), युवा उद्यमशीलता र रोजगारी सिर्जनामा केन्द्रित रहेको छ ।

सम्मेलनमा तीनै तहका सरकार, निजीक्षेत्र, विकास साझेदार संस्था तथा विभिन्न कूटनीतिक नियोगका उच्चपदस्थ अधिकारीसहित देशभरका करिब ४०० उद्यमी, व्यवसायी र सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ । 

सिबिफिनका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले सम्मेलन वित्तीय पहुँच, वित्तीय समावेशीकरण, उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी सिर्जनामा प्रविधिको उपयोगजस्ता विषयमा केन्द्रित हुने बताए ।

सम्मेलनले नेपालको बैंकिङ्ग तथा वित्तीय क्षेत्र र युवा उद्यमीबीचको सम्बन्धलाई थप विस्तारित र व्यावसायिक बनाउन सहयोग पुग्ने उनको भनाइ छ । उत्पादनशील क्षेत्रमा सुरक्षित कर्जा लगानी बढाउनसमेत सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने उपाध्यायले बताए । त्यसैगरी, नेपाल बिजनेस इन्ष्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले देशको दिगो आर्थिक विकासका लागि युवालाई उत्पादन र रोजगारीसँग जोड्न आवश्यक रहेको बताए । 

युवा उद्यमीलाई प्रोत्साहन गर्न नीतिगत व्यवस्था, स्टार्टअपका लागि बीउ पुँजीको उपलब्धता र उद्यममा वित्तीय पहुँच विस्तार महत्त्वपूर्ण विषय भएको उनको भनाइ छ। बैंक तथा वित्तीय संस्थासँग प्रत्यक्ष सम्बन्ध राख्ने यी विषयमा सिबिफिनसँगको सहकार्यले सम्मेलनलाई थप प्रभावकारी बनाउने गैरेले विश्वास व्यक्त गरे ।सम्मेलनले युवा उद्यमी तथा वित्तीय क्षेत्रमैत्री नीति निर्माण, स्टार्टअप प्रवर्द्धन, लगानीको वातावरण सुधार र रोजगारीका अवसर सिर्जना गर्न स्पष्ट दिशाबोध गर्ने अपेक्षा गरिएको छ ।