काठमाडौं – खल्तीको आधिकारिक कर्मचारी भएको भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटका सुभम कुमार झा, पवन कुमार चौधरी, ऋषि गंगा र बाराका अनिकेत यादव रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले विभिन्न मोबाइल नम्बरबाट फोन गरी आफूहरू खल्तीका आधिकारिक कर्मचारी भएको बताउने गरेका थिए। त्यसपछि सर्वसाधारणलाई स्क्रिन सेयर गर्न लगाउने तथा ओटीपी कोर्ड मागेर उनीहरूको बैंक तथा डिजिटल वालेट खातामा अनधिकृत पहुँच पुर्याउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यसरी खातामा पहुँच बनाएपछि उनीहरूले विभिन्न व्यक्तिको खाताबाट रकम अन्य खातामा ट्रान्सफर गरी ठगी गर्ने गरेको आरोप छ। उनीहरूलाई ललितपुर महानगरपालिका–२८, हात्तीवन स्थित मेरो सिटी अपार्टमेन्टको १३औँ तलामा रहेको एक कोठाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उनीहरूलाई पक्राउ गरी अनलाइन ठगी तथा लागू औषधसम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया