काठमाडौं – व्यवसायी दीपक भट्टले आफ्नो सबै कारोबार बैंकिङ्ग प्रणालीमार्फत कानुनी र वैध रूपमा गर्ने गरेको दाबी गरेका छन् । एलायन्ट इन्स्योरेन्स ब्रोकर्स र हिमालयन रिइन्स्योरेन्ससँग सम्बन्धित कारोबारमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गर्दै उनले सम्पत्ति शुद्धीकरणको कसुर गर्ने मनसायसमेत नभएको बताएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा दर्ता भएको अभियोगपत्रमा उल्लेखित बयानमा भट्टले एलायन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालिमा आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता, आर्थिक हित, लाभग्राही स्वामित्व तथा व्यवस्थापकीय नियन्त्रण नरहेको दाबी गरेका हुन् ।
उनका अनुसार एलायन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि उनकी सासू अञ्जना नेपाल र अर्का एक व्यक्तिको संयुक्त साझेदारीमा सञ्चालन भएको हो । कम्पनीको निर्णय प्रक्रिया तथा सञ्चालनमा आफ्नो कुनै भूमिका नरहेको उल्लेख गर्दै भट्टले हिमालयन रिइन्स्योरेन्सबाट पुनर्बीमा ब्रोकर कमिसन प्राप्त गर्ने उद्देश्यले आफूले कुनै योजना नबनाएको बताएका छन् ।
भट्टले एलायन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालिको कारोबार तथा हिमालयन रिइन्स्योरेन्सबाट प्राप्त पुनर्बीमा कमिसनबारे आफूलाई जानकारी नभएको बयान दिएका छन् । उक्त कम्पनीबाट आफ्नो बैंक खातामा कुनै रकम नआएको दाबी गर्दै उनले साहिल अग्रवाल तथा उनीसम्बद्ध कम्पनीमा समेत आफ्नो संलग्नता नरहेको बताएका छन् ।
दीपक भट्टको बयान
मैले मेरो सबै कारोबार बैंकिङ्ग प्रणाली मार्फत कानुनी रूपमा वैध रूपमा गर्ने गरेको छु । माथि उल्लेखित सबै कारोबारहरूको बारेमा मलाई अहिले यकिन जानकारी छैन । तथापि कसुर गर्ने मनसायले उक्त कुनै पनि कारोबार भएको होइन। थप विवरण आवश्यक परेमा म पछि मेरो लेखा हेर्ने कर्मचारीसँग बुझी खुलाउने छु। एलायन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालिको सञ्चालक मेरो सासू अञ्जना नेपाल र अर्को व्यक्ति (हाल मलाई नाम याद भएन) को संयुक्त साझेदारीमा सञ्चालन भएको हो । उक्त कम्पनीको सम्बन्धमा मेरो कुनै प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध, आर्थिक हित, लाभग्राही स्वामित्व, व्यवस्थापकीय नियन्त्रण, निर्णय प्रक्रियामा संलग्नता छैन । माथि उल्लेखित कम्पनी मार्फत हिमालयन रिइन्स्योरेन्स लिमिटेडबाट पुनर्बीमा ब्रोकर कमिशन प्राप्त गर्ने मेरो कुनै पनि उद्देश्यले योजना पनि गरेको छैन ।
सवाल नं.२ को बुँदा नं. १ को सवालको सम्बन्धमा एलायन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालिको वास्तविक लगानीकर्ता मेरो सासू अञ्जना नेपाल र अर्को व्यक्ति भएको र मेरो यसमा कुनै प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्नता नरहेको हुँदा यसको बारेमा जानकारी भएन । उक्त सवालको बुँदा नं. २ को सवालको सम्बन्धमा उक्त कम्पनीको सञ्चालनमा मेरो कुनै भूमिका छैन । माथि उल्लेखित कम्पनीको कारोबारको सम्बन्धमा मेरो प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्नता नरहेको हुँदा यो सँग सम्बन्धित कारोबारको सम्बन्धमा मलाई कुनै पनि जानकारी छैन । उक्त सवालको बुँदा नं.३ को सवालको सम्बन्धमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडबाट प्राप्त पुनर्बीमा कमिशन रकमको बारेमा मलाई कुनै जानकारी छैन ।
उक्त सवालको बुँदा नं. ४ को सवालको सम्बन्धमा साहिल अग्रवाल तथा निज सम्बद्ध रहेको कम्पनीमा मेरो कुनै संलग्नता छैन । उक्त सवालको बुँदा नं।५ को सवालको सम्बन्धमा एलायन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालिबाट मेरो खातामा कुनै पनि रकम आएको छैन । यसको विषयमा मलाई जनकारी छैन । सवाल नं.२ को ६ नं. बुँदामा सोधिएको उक्त रकम भनेको मलाई थाहा भएन । सो बाहेक मेरो सासू अञ्जना नेपालले आफ्नो छोरीलाई दिएको कर तिरेको लाभांश रकम मेरो श्रीमती मार्फत मैले उपयोग गरेको हुँ। सवाल नं.२ को बुँदा नं. ७ को सम्बन्धमा मैले सबै कारोबार रकम पारदर्शी रूपमा बैंकिङ्ग प्रणाली मार्फत गरेको हुँदा मैले कुनै पनि रकम स्रोत लुकाउने, स्वरूप परिवर्तन गर्ने, विभिन्न खातामा स्थानान्तरण गर्ने तथा अन्ततः एकीकृत गरी उपयोग गर्ने कार्य गरेको पनि छैन र मैले कुनै पनि कसुरजन्य कार्य गर्ने मनसाय राखेको पनि छैन भन्ने कुरा स्पष्ट खुलाउन चाहन्छु ।
एलायन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालिको सम्बन्धमा उक्त कम्पनीमा मेरो कुनै प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्नता नरहेको हुँदा उक्त कम्पनीले गर्ने कारोबारमा मेरो कुनै पनि प्रभाव, नियन्त्रण र निर्देशन रहने गरेको छैन। बीमा प्राधिकरणको प्रतिवेदनले नेपाल सरकार वादी वि। आयुष्मा नेपाल भट्ट समेत भएको बीमा सम्बन्धी कसुर अभियोग पाना ७५ मध्येको पाना २० सो को लाभ मलाई प्राप्त भएको पनि छैन । सो कम्पनीको अन्तिम हिताधिकारी व्यक्ति पनि म होइन । सवाल नं। ३ को बुँदा नं. १ मा सोधिएको सवालको सन्दर्भमा मलाई जानकारी भएन । बुँदा नं २ को सवालको सम्बन्धमा मेरो प्रत्यक्ष तथा अप्रत्यक्ष भूमिका थिएन छैन । उक्त सवालको बुँदा नं.३ को सम्बन्धमा मलाई जानकारी छैन ।
उक्त सवालको बुँदा नं.४ को बारेमा मलाई थाहा भएन । उक्त सवालको बुँदा नं।५ को बारेमा यस कम्पनीको रकम मेरो बैंक खातामा आएको छैन । मेरो बैंक खातामा आएको रकम मेरो सासू अञ्जना नेपालले आफ्नो छोरीलाई कर तिरेको लाभांश रकमबाट दिएको रकम मेरो श्रीमती मार्फत आएको हो । बुँदा नं. ६ मा सोधिएको कम्पनीको नियन्त्रण, निर्णय प्रक्रिया लगायतका कार्य मैले गरेको छैन । उक्त सवालको बुँदा नं. ७ मा मेरो सासू अञ्जना नेपाल सञ्चालक रहेको कम्पनीमा मेरो कुनै संलग्नता नियन्त्रण, प्रभाव छैन तथा लाभ पनि लिएको छैन। मैले कसुर गर्ने मनसायले कुनै पनि कारोबार गरेको छैन ।
एलियट इन्स्स्योरेन्स ब्रोकर्स प्रा।लि। मा म लगानीकर्ताको रूपमा रहेको छैन । त्यस कारणले यस कम्पनीले हिमालयन रि ईन्स्योरेन्स कम्पनीसँग कारोबार गरेको सम्बन्धमा सो कम्पनीले नै जान्ने कुरा हो । मैले मेरो श्रीमती आयुष्मा भट्ट नेपालको खाताबाट प्राप्त गरेको हो । उक्त रकम मेरो श्रीमतीको आमाले छोरीलाई दिएको हो । मेरो सासू एलियण्ट इन्स्योरेन्स व्रोकर्स प्रालिमा अध्यक्षको रूपमा रहे पनि सम्पूर्ण कम्पनीको कार्य प्रमुख कार्यकारी अधिकृतले गर्ने हो । यसरी लाभांशबाट प्राप्त गरेको रकम मेरो खातामा प्राप्त गर्दैमा मैले सम्पत्ति शुद्धीकरणको कसुर गरेको भन्न मिल्दैन । कसुरबाट प्राप्त गरेको सम्पत्ति धारण गर्ने, तहगत कारोबार गर्ने, स्वामित्व लुकाउने र एकीकरण गर्ने कार्यमा म कुनै पनि हिसाबमा संलग्न छैन ।






About Us
प्रतिक्रिया