एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङसहित चार जनाविरुद्ध मुद्दा दायर 

'९३ लाख क्षतिपूर्ति दाबी'


काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले एन्फाका अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेविरुद्ध मुद्दा दायर गरेको हो।

उनीहरूमाथि राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गत खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने कसुर र मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगीसम्बन्धी कसुरमा अभियोजन गरिएको छ। सरकारी वकिल कार्यालयले एन्फालाई कुल ९३ लाख क्षतिपूर्ति भराउन माग दाबी गरेको छ।

त्यस्तै, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम पीडित राहत कोषमा प्रतिवादीहरूबाट क्षतिपूर्ति शुल्क जम्मा गराउन मागदाबी  गरिएको छ।