अनियमित रूपमा लाइसेन्स दिएको आरोपमा तत्कालीन कार्यालय प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसहित ७ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार सवारी चालक अनुमतिपत्रको एचआईजी (मेसिन) तथा जे१ र जे२ वर्गको लाइसेन्स वितरणमा अनियमितता भएको सम्बन्धमा परेको उजुरीमाथि अनुसन्धान गर्दा सरकारी कागजातमा अनधिकृत रूपमा सच्याउने, केरमेट गर्ने तथा परीक्षाको परिणाम हेरफेर गर्ने कार्य भएको पाइएको हो।

अनुसन्धानका क्रममा तत्कालीन कार्यालय प्रमुख यादवले अन्य प्रतिवादीसँगको मिलेमतोमा लिखित तथा प्रयोगात्मक परीक्षामा सहभागी नै नभएका व्यक्तिहरूलाई परीक्षामा उत्तीर्ण भएको देखाई सवारी चालक अनुमतिपत्र जारी गराएको आयोगको दाबी छ। आयोगका अनुसार वैदेशिक रोजगारीका क्रममा जापान गएका एक व्यक्ति नेपाल फर्किएको अभिलेख नदेखिए पनि उनलाई लिखित तथा प्रयोगात्मक परीक्षामा उत्तीर्ण भएको देखाई २०७८ कात्तिक १७ गते जे१ वर्गको सवारी चालक अनुमतिपत्र जारी गरिएको थियो।

त्यस्तै, लिखित परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिको परीक्षाफल संशोधन गरिएको अभिलेख तयार गरी उत्तीर्ण भएको देखाउने तथा प्रयोगात्मक परीक्षा दिएको जस्तो देखिने झुट्टा अभिलेख तयार गरिएको आयोगले जनाएको छ। यसरी ३ जनालाई जे१ र ४ जनालाई जे२ वर्गको सवारी चालक अनुमतिपत्र जारी गरिएको आरोप छ।

त्यसैगरी, लिखित परीक्षामा सहभागी नै नभएका ५ जनालाई प्रयोगात्मक परीक्षामा सहभागी भएको झुट्टा अभिलेख तयार गरी जे१ वर्गको सवारी चालक अनुमतिपत्र जारी गरिएको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ। आयोगका अनुसार वैदेशिक रोजगारीका क्रममा जापानमा रहेका व्यक्तिसमेत गरी जम्मा १३ जनाको नाममा यसरी सवारी चालक अनुमतिपत्र जारी गरिएको पुष्टि भएको छ।

सरकारी कार्यालयका कागजात तथा अभिलेखमा अनधिकृत र गैरकानुनी रूपमा सच्याउने, केरमेट गर्ने, थपघट तथा हेरफेर गर्ने र परीक्षाको परिणामसमेत फेरबदल गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जनाविरुद्ध सजायको मागदाबी गर्दै आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।