काठमाडौं – माछापुच्छ्रे बैंकले ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्यसम्पादन गरेबापत दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। बैंकले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट’ विधामा प्लेटिनम अवार्ड प्राप्त गरेको हो। ग्राहकको खाता खोल्ने प्रक्रियासहित बैंकिङ्ग सेवालाई थप सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘रिइन्भेन्टिङ कस्टमर अनबोर्डिङ’ पहलका लागि बैंकलाई उक्त सम्मान प्रदान गरिएको जनाइएको छ।
इन्फोसिस फिनाकल इनोभेसन अवार्डले विश्वभरका बैंक तथा वित्तीय संस्थाले प्रविधि र नवप्रवर्तनका क्षेत्रमा गरेका उत्कृष्ट कार्यलाई सम्मान गर्दै आएको छ। यस वर्ष ५०० भन्दा बढी आवेदनमध्ये माछापुच्छ्रे बैंकलाई उत्कृष्ट ठहर गर्दै प्लेटिनम अवार्ड प्रदान गरिएको हो।
यसैगरी, बैंकले ‘बेस्ट पर्फर्मेन्स अन रिस्क म्यानेजमेन्ट’ विधामा अर्को अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ। इन्डियन च्याम्बर अफ कमर्सले नयाँ दिल्लीमा आयोजना गरेको ‘फोर्थ इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स २०२६’ मा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो।
कर्जा, सञ्चालन, बजार तथा तरलता जोखिम व्यवस्थापनमा बैंकले अपनाएको सक्रिय दृष्टिकोण तथा सुरक्षित र जिम्मेवार बैंकिङ्ग अभ्यासका लागि यो सम्मान प्रदान गरिएको बैंकले जनाएको छ। पछिल्लो उपलब्धिले डिजिटल रूपान्तरणसँगै प्रभावकारी जोखिम व्यवस्थापनलाई बैंकले प्राथमिकतामा राख्दै आएको देखाएको छ।
माछापुच्छ्रे बैंकले पछिल्ला वर्षहरूमा विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ। यसअघि बैंकले भिसा लिडरशिप कन्क्लेभ अवार्ड २०२३ र २०२४, इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ र २०२५ तथा राइजिङ स्टार इन एसेट क्वालिटी अवार्ड २०२५ लगायतका सम्मान प्राप्त गरिसकेको छ।






About Us
प्रतिक्रिया