काठमाडौं – प्रहरीले ललितपुरबाट विदेशी मुद्रासहित तीन जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बंगलादेशका रमन मिया, तायेब हुसैन राजोम सिद्दा र महादी हसन रहेका छन्।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका–१४, जुपिटर मार्गस्थित कमलरग अपार्टमेन्टको दोस्रो तल्लामा विदेशी नागरिकहरू शंकास्पद गतिविधिमा संलग्न रहेको सूचना पाएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो। त्यस क्रममा गरिएको खानतलासीमा अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट १०० अमेरिकी डलरका १५५ थान नोट गरी जम्मा १५ हजार ५०० अमेरिकी डलर बरामद गरेको जनाएको छ। त्यस्तै, ३८ हजार ४५० बंगलादेशी टाका र ३ लाख १५ हजार नेपाली रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ। बरामद मुद्रासहित पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया