काठमाडौं – बढ्दो मुद्रास्फीति जोखिम, विश्वव्यापी आर्थिक अवस्था र घरेलु अर्थतन्त्रको बलियो वृद्धिबीच भारतीय रिजर्भ बैंक (आरबीआई) ले बुधबार नीतिगत रेपो दर २५ आधार अङ्कले बढाएर ५.५० प्रतिशत पुर्याएको छ। आरबीआईका गभर्नर सञ्जय मल्होत्राले बृहत् आर्थिक तथा वित्तीय अवस्था र आगामी दृष्टिकोणको मूल्याङ्कनपछि मौद्रिक नीति समितिले (एमपीसी) रेपो दर बढाउने निर्णय सर्वसम्मतिले गरेको बताए। यसअघि अगस्टमा समितिले रेपो दर ५.२५ प्रतिशतमा यथावत् राख्दै तटस्थ नीतिगत दृष्टिकोण अपनाएको थियो।
रेपो दर वृद्धिपछि स्थायी निक्षेप सुविधा दर ५.२५ प्रतिशत तथा मार्जिनल स्थायी सुविधा र बैंक दर ५.७५ प्रतिशत कायम भएको छ। एमपीसीको नीतिगत दृष्टिकोण भने बहुमतबाट मौद्रिक नीति थप कडा बनाउनेतर्फ परिवर्तन गरिएको छ। भारतको उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति अगस्टमा ४.८२ प्रतिशत पुगेको थियो। कमजोर मनसुन र कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर पुग्न सक्ने जोखिमले आगामी दिनमा मूल्यवृद्धिमा थप दबाब पर्न सक्ने अनुमान गरिएको छ।
यसैबीच, भारतको अर्थतन्त्र आर्थिक वर्ष २०२६/२७ को पहिलो त्रैमासिकमा ७.८ प्रतिशतले विस्तार भएको छ। घरेलु माग, उत्पादन तथा सेवा क्षेत्रमा आर्थिक गतिविधि बलियो रहेको जनाइएको छ ।अर्थशास्त्रीहरूले मुद्रास्फीति, तेलको मूल्य र विश्वव्यापी वित्तीय अवस्थाका आधारमा आर्थिक वर्ष २०२६/२७ को अन्त्यसम्ममा रेपो दर करिब छ प्रतिशत पुग्न सक्ने अनुमान गरेका छन्।






About Us
प्रतिक्रिया