गगन थापाको राजनीतिक प्रतिवेदनमा के छ ?


काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। खुलामञ्चमा जारी महाधिवेशनमा थापाले ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ शीर्षकको राजनीतिक प्रस्ताव पेश गर्दै विगतका कमीकमजोरीको आत्मसमीक्षा, पार्टी रूपान्तरणको खाका र ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ निर्माणको दृष्टि सार्वजनिक गरेका हुन्।

प्रतिवेदनमा जननायक बीपी कोइरालाले अघि सारेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्शलाई २१औँ शताब्दीको परिवेशअनुसार पुनर्व्याख्या गर्दै कांग्रेसको मुख्य राजनीतिक ध्येय समुन्नत राष्ट्र निर्माण रहेको उल्लेख गरिएको छ। थापाले सत्ता र पदको भागबन्डा, गठबन्धन व्यवस्थापन, गुटबन्दी तथा लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको स्वीकार गरेका छन्। भ्रष्टाचार र अनियमिततामा आफ्नै पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्ततामा असर पुगेको तथा यसका कारण पार्टी र नागरिकबीच दूरी बढेको प्रतिवेदनमा उल्लेख छ।

युवापुस्तासँग पार्टीको सम्बन्ध कमजोर बनेको र नागरिकका बदलिँदा अपेक्षा बुझ्न नसकेको आत्मसमीक्षा गर्दै कांग्रेसले दोस्रो विशेष महाधिवेशनमार्फत जनतासँग क्षमायाचना गरी सुधारको संकल्प गरेको दस्तावेजमा जनाइएको छ। प्रतिवेदनमा निर्वाचनपूर्व गरिने अप्राकृतिक गठबन्धनको अन्त्य गर्ने र आफ्नै विचार, नीति तथा उम्मेदवारका आधारमा जनविश्वास हासिल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै संसद्मा प्रतिपक्षको भूमिकालाई केवल सत्ताको विरोधमा सीमित नराखी प्रभावकारी खबरदारी र विश्वसनीय वैकल्पिक नीतिको माध्यम बनाइने उल्लेख गरिएको छ।

आर्थिक क्षेत्रमा थापाले निजी क्षेत्र–मैत्री, उत्पादनमुखी र सामाजिक न्याय–केन्द्रित तीन खम्बे अर्थतन्त्रको अवधारणा अघि सारेका छन्। नागरिकलाई राज्यमा आश्रित बनाउनुको सट्टा शिक्षा, स्वास्थ्य, सीप विकास र उद्यमशीलतामार्फत श्रम तथा पुँजीको मालिक बनाउने नीति दस्तावेजमा समेटिएको छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, कार्यकारी पदमा दुई कार्यकालको संवैधानिक सीमा निर्धारण गर्ने तथा सुशासन प्रवर्द्धनका लागि ‘गभर्नेन्स इन्स्टिच्युट’ र ‘निर्वाचन ब्युरो’ स्थापना गर्ने प्रस्ताव पनि प्रतिवेदनमा गरिएको छ। संगठनात्मक सुधारअन्तर्गत पाँच पुस्ताबीचको सहयात्रा सुनिश्चित गर्न १८ देखि २१ वर्ष उमेर समूहका लागि ‘युथ काउन्सिल’ र अग्रज नेताहरूको अनुभव उपयोग गर्न ‘विज्डम काउन्सिल’ गठन गर्ने योजना अघि सारिएको छ।

त्यसैगरी पार्टी सदस्यतालाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजाने, उम्मेदवार छनोटमा प्राथमिक निर्वाचन (प्राइमरी) प्रणाली लागू गर्ने तथा आन्तरिक लोकतन्त्रलाई थप पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। सभापति थापाले आगामी चार वर्षमा कांग्रेसलाई भाषण र नाराभन्दा परिणाममुखी काम, सुशासन र नागरिकको जीवनस्तर सुधारमा केन्द्रित गर्ने लक्ष्यसहित पार्टी रूपान्तरणको स्पष्ट मार्गचित्र प्रस्तुत गरेका छन्।