धितोपत्र दलाल व्यवसायलाई चार तहमा वर्गीकरण गर्दै सेबोन, के–के छन् प्रस्तावहरू?


काठमाडौं – नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायलाई थप सबल, व्यवस्थित र प्रतिस्पर्धी बनाउने उद्देश्यले ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ अघि सारेको छ। नीतिले धितोपत्र दलाल व्यवसायीको पुँजी, वित्तीय क्षमता, संस्थागत सुशासन, प्रविधि, जोखिम व्यवस्थापन र ग्राहक संरक्षणलाई सुदृढ गर्दै उनीहरूलाई आधुनिक धितोपत्र बजार मध्यस्थकर्ताका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।

बोर्डले प्रस्ताव गरेको नीतिअनुसार धितोपत्र दलाल व्यवसायीलाई पुँजी, सेवा विविधीकरण, जोखिम वहन क्षमता र संस्थागत क्षमताका आधारमा चार तहमा वर्गीकरण गरिनेछ। ‘क’ श्रेणीमा धितोपत्र व्यापारी, ‘ख’ श्रेणीमा पूर्ण सेवा धितोपत्र दलाल, ‘ग’ श्रेणीमा कारोबारमुखी धितोपत्र दलाल र ‘घ’ श्रेणीमा विशिष्टीकृत धितोपत्र दलाल रहने व्यवस्था प्रस्ताव गरिएको छ।

नीतिले हाल मुख्यतः धितोपत्र खरिद–बिक्री आदेश कार्यान्वयनमा केन्द्रित रहेको दलाल व्यवसायलाई क्रमशः बहुसेवामुखी बजार मध्यस्थकर्ताका रूपमा विकास गर्ने बोर्डको योजना छ। त्यसअन्तर्गत मार्जिन कारोबार, धितोपत्र सापटी तथा उधारो, सर्ट सेलिङ, अन्तरदिवसीय कारोबार, बजार निर्माता, लगानी अनुसन्धान तथा परामर्शलगायत सेवा विस्तारका लागि दलाल व्यवसायीको संस्थागत क्षमता विकास गरिनेछ।

तर, उच्च जोखिमयुक्त सेवा सञ्चालन गर्न भने छुट्टै स्वीकृति लिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। मार्जिन कारोबार, धितोपत्र सापटी तथा उधारो, आवरणयुक्त सर्ट सेलिङ र बजार निर्माताजस्ता गतिविधि सञ्चालन गर्न सम्बन्धित दलाल व्यवसायीले पर्याप्त पुँजी, प्रविधि, दक्ष जनशक्ति, जोखिम व्यवस्थापन र सञ्चालन क्षमता प्रमाणित गर्नुपर्नेछ।

दलाल व्यवसायीको वित्तीय क्षमता बलियो बनाउन न्यूनतम चुक्ता पुँजीलाई मात्र पर्याप्त मापदण्ड नमान्ने प्रस्ताव गरिएको छ। जोखिममा आधारित पुँजी कायम गर्नुपर्ने व्यवस्था गर्दै बजार जोखिम, कर्जा जोखिम, प्रतिपक्ष जोखिम, सञ्चालन जोखिम, तरलता जोखिम, कारोबार फछ्र्योट जोखिम तथा केन्द्रीकरण जोखिमलाई पुँजी पर्याप्तताको गणनामा समेटिनेछ। उच्च जोखिमयुक्त कारोबार सञ्चालन गर्ने दलाल व्यवसायीका लागि थप पुँजीको व्यवस्था पनि प्रस्ताव गरिएको छ। मार्जिन फाइनान्सिङ, अन्तरदिवसीय कारोबार, धितोपत्र सापटी तथा उधारो, सर्ट सेलिङ र बजार निर्माणजस्ता गतिविधिमा सम्बन्धित जोखिमका आधारमा अतिरिक्त पुँजी आवश्यक पर्ने व्यवस्था गरिनेछ।

धितोपत्र दलाल व्यवसायी तथा उक्त संस्थाका सञ्चालक, कर्मचारी र डिलरले बजार दुरुपयोग, भित्री कारोवार तथा बजार प्रभावित पार्ने कार्य जस्ता निषेधित व्यवहार गर्न नपाईने कुरा बोर्डले स्पष्ट पारेको छ। त्यसैगरी, साइबर आक्रमण तथा प्रविधिगत अवरोधबाट कारोबार प्रभावित हुन नदिन व्यवसाय निरन्तरता योजना, विपद् पुनर्स्थापना व्यवस्था, ब्याकअप प्रणाली र नियमित परीक्षणको व्यवस्था गर्नुपर्नेछ।

सर्ट सेलिङ सञ्चालन गर्न बोर्डबाट छुट्टै अधिकार प्रदान अनिवार्य हुनेछ। त्यस्तै, धितोपत्र दलाल व्यवसायीले ऋण लिने सम्बन्धी पुष्टि, धितो र फर्छ्यौट दायित्व व्यवस्थापन गर्न सक्षम हुनुपर्छ। साथै, सर्ट–सेलिङ जोखिमलाई जोखिममा आधारित पुँजी गणनामा समावेश गरिनेछ।