कामना सेवाको २० औँ वार्षिक साधारण सभाबाट १५ प्रतिशत लाभाशं पारित


काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडको २० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकको उक्त सभा भदौ ३१ गतेका दिन आम्रपाली बैंक्वेट, भाटभाटेनी, काठमाडौंमा सम्पन्न भएको हो।

बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट बैंकका अग्राधिकार शेयरधनीहरूले अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभांश पारित गरेको छ।

साथै, उक्त साधारण सभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आव २०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू सर्वसम्मतिले पारित गरेको छ। त्यसैगरि सभाबाट बाह्य लेखा परीक्षक एनबिएसएम एण्ड एसोसिएट्सलाई नियुक्त गर्ने प्रस्ताव समेत पारित भएको छ।

साधारणसभामा शेयरधनीहरुले राखेको जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिए। शेयरधनीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले निरन्तर रूपमा दोहोरो अंकमा लाभांश वितरण गर्न सफल भएकोमा आगामी दिनहरूमा संस्थालाई दिगो र सबल बनाउन प्रतिबद्ध रहेको बताए।