प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि टेन्ट र स्लिपिङ ब्याग सहयोग


काठमाडौं – रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारका लागि प्रभु बैंक लिमिटेडले थप राहत सामग्री उपलब्ध गराएको छ।

बाढीपीडितलाई तत्काल आश्रय तथा राहतमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको हो। उक्त राहत सामग्री सम्बन्धित बाढीपीडित परिवारलाई वितरण गरिने बैंकले जनाएको छ।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा प्रभु बैंकका प्रमुख बजार व्यवस्थापक दिपेन्द्र बाबु विष्टले बैंकको तर्फबाट जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई सामग्री हस्तान्तरण गरे।

यसअघि पनि प्रभु बैंकले विपद् प्रभावितको उद्धार तथा राहतका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको थियो। बैंकले उक्त रकम बराबरको चेक सरकारलाई हस्तान्तरण गरिसकेको जनाएको छ।

बाढी तथा विपद्का कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति प्रभु बैंकले श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै सम्पर्कविहीन व्यक्तिहरूको शीघ्र उद्धार तथा घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायप्रति बैंकले गहिरो समवेदना प्रकट गरेको छ। बैंकले विपद्को समयमा प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ।