काठमाडौं – आफैँ विपत्तिमा परे पनि रसुवा बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनाका लागि हालसम्म १६ वटा वाणिज्य बैंकहरूले मात्रै साढे ५८ करोड रुपैयाँ आर्थिक सहयोग गरेका छन्। भदौ १० गते भोटेकोशी नदीमा आएको विनाकारी बाढीबाट प्रभावित नागरिक तथा स्थानमा राहत तथा पुनः स्थापना गर्ने उद्देश्यले वाणिज्य बैंकहरूले झन्डै ५८ करोड ६२ लाख रुपैयाँ सहयोग गरेका हुन्।
रसुवा बाढीमा परेर रसुवा, नुवाकोट र धादिङ आसपासका प्रभावित क्षेत्रमा रहेका वाणिज्य बैंकका ९ वटा शाखामा पूर्ण क्षती भएको छ। यस्तै, कयौँ कर्मचारीको निधन भएको छ भने अझै केही बेपत्ता छन्। तर, पनि बैंकहरु विपत्तिमा आफैँमाथि परेको बज्रपात भुलेर बाढी प्रभावितहरूलाई सहयोग गरिरहेका हुन्। यीमध्येमा ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले सबैभन्दा बढी सहयोग गरेका छन्।
भदौ १० गते चीनको तिब्बतबाट नेपाल पसेको विनाशकारी बाढीपछि ग्लोबलले ५ करोड र नेपाल इन्भेष्टमेन्ट बैंकले ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। यी दुई बाहेक अन्य बैंकले पनि उल्लेख्यरुपमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरेका छन्। फलस्वरूपः अहिलेसम्म वाणिज्य बैंकहरुबाटै कोषमा साढे ५८ करोड रुपैयाँ गएको हो।
कुन बैंकले कति गरे सहयोग ?
अर्थ मन्त्रालयका अनुसार भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत र पुनः स्थापनामा सघाउन एभरेष्ट बैंकले सरकारलाई ३ करोड ११ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराएको छ। त्यस्तै, सिद्धार्थ बैंकले २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। यता कृषि विकास बैंकले ३ करोड, हिमालयन बैंकले ३ करोड १ लाख, माछापुच्छ्रे बैंकले २ करोड १ लाख, कुमारी बैंकले ३ करोड ३९ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
त्यसैगरी, नेपाल बैंकले ३ करोड १ लाख रूपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ३ करोड, सानिमा बैंकले २ करोड २५ लाख र एनआईसी एशिया बैंकले २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ। त्यस्तै, प्राइम कर्मसियल बैंकले, ३ करोड १ लाख, प्रभु बैंकले लागि २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
त्यस्तै, एनएमबि बैंक ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले उक्त प्रभावित क्षेत्रका नगरिकहरुका लागि दश लाख रुपैयाँ बराबरको राहत सामाग्री समेत प्रदान गरेको छ। त्यस्तै, सिटिजन्स बैंक इन्टरनेशनलले २ करोड २२ लाख २२ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
यता चौधरी फाउन्डेसन र नबिल बैंकले भने संयुक्त रूपमा रसुवा र नुवाकोटका बाढी प्रभावितका लागि कुल १५ करोड रुपैयाँ बराबरको बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका छन्। कार्यक्रमअन्तर्गत भदौ ११ गतेदेखि तयारी खाना, खानेपानी, बिस्कुट, लत्ताकपडा, त्रिपाल र सरसफाइ सामग्री वितरण सुरु गरिएका हुन्।
दुवै संस्थाले रसुवा र नुवाकोटमा एक–एक राहत शिविर, ५०० अस्थायी आवास एकाइ र सङ्क्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गर्ने घोषणा समेत गरेका छन्। त्यस्तै गरी, नेपाल एसबीआई बैंकले भने राहत सहयोग उपलब्ध गराएको छ। बैंकले प्रभावित समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्दै राहत सामग्रीमार्फत सहयोग गर्ने जनाएको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ मा पहिलो संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाले सीएसआरको रकम प्राकृतिक प्रकोपबाट प्रभावितहरूको औषधोपचार, राहत तथा उद्धारका लागि पनि प्रयोग गर्न पाउने व्यवस्था गरेको छ। जसले गर्दा पनि बैंकहरुले धमाधम सहयोग गरिरहेका छन्। संशोधित व्यवस्थाअनुसार अब बैंकहरुले औषधी उपचार, राहत र उद्धारमा पनि सीएसआरको रकम प्रयोग गर्न सक्नेछन्।
मार्गदर्शनमा प्राकृतिक प्रकोप तथा महामारी पीडितलाई वितरण गरिने लत्ताकपडा, खाद्यान्न, टेन्ट, भाँडालगायतका बन्दोबस्तका सामग्री तथा पीडितको औषधोपचार, उद्धार तथा राहत कार्यमा हुने खर्चमा सीएसआरको रकम प्रयोग गर्न सक्ने व्यवस्था उल्लेख छ।






About Us
प्रतिक्रिया