काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको आफ्ना शेयरधनीहरूलाई भदौं २४ गते २० औं वार्षिक साधारण सभामा बोलाएको छ। बैंकको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले भदौ २४ गते झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा सो सभा बोलाएको हो। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।
बैंकको विशेष प्रस्ताव अन्तर्गत सभामा बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सञ्चालकको बैठक भत्ता बढाउने प्रस्ताव पेश गर्नेछ।
त्यस्तै, सामान्य प्रस्तावमा सर्वसाधारण समूहबाट ३ जना सञ्चालक निर्वाचन गर्ने, अघिल्लो आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरू पेश गर्नेछ।
साथै, बैंकले सो सभामा शेयरधनीका लागि कुनैपनि प्रकारको लाभांशको प्रस्ताव भने ल्याएको छैन। साधारणसभा प्रयोजनार्थ बैंकले भदौ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जसको अर्थ बुक क्लोजको आधारमा भदौ ८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा कारोबार भई कायम शेयरधनीहरू साधारणसभामा भाग लिन सक्नेछन्।







About Us
प्रतिक्रिया