काठमाडौं –रिलायन्स फाइनान्स लिमिटेडले कर्मचारीबीच आपसी सहकार्य, सद्भाव र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको पहिलो अन्तरशाखा फुटसल प्रतियोगिता सम्पन्न गरेको छ।
प्रतियोगितामा फाइनान्सका विभिन्न शाखाबाट रिलायन्स फुटसल लायन्स, रिलायन्स फुटसल लर्ड्स, रिलायन्स फुटसल लिगेसी र रिलायन्स फुटसल लिडर्स गरी चार टोलीको सहभागिता रहेको थियो। कार्यक्रममा व्यवस्थापन टोली, कर्मचारी तथा अन्य सहभागी गरी करिब एक सय जनाको उपस्थिति रहेको कम्पनीले जनाएको छ।
प्रतियोगितामा रिलायन्स फुटसल लायन्स च्याम्पियन बनेको छ भने रिलायन्स फुटसल लिगेसी उपविजेतामा सीमित भएको छ। विजेता तथा उपविजेता टोलीका खेलाडीलाई प्रमुख कार्यकारी अधिकृत डा. बुद्धि मल्ल र उपप्रमुख कार्यकारी अधिकृत रामहरी आचार्यले पदक वितरण गर्नुका साथै विजेता टोलीलाई नगद पुरस्कारसमेत प्रदान गरेका थिए।
कार्यक्रमपछि टोलीका कप्तानहरू अखण्ड श्रेष्ठ, अभिषेक केसी, प्रमोद प्रजापति र दिक्पाल श्रेष्ठले खेलकुद गतिविधिले कर्मचारीको शारीरिक तन्दुरुस्ती, टिमवर्क र आपसी सहकार्य अभिवृद्धि गर्न सकारात्मक भूमिका खेलेको धारणा व्यक्त गरेका थिए।
रिलायन्स फाइनान्सले यस्ता कार्यक्रमले कर्मचारीको प्रतिभा पहिचान गर्न, नियमित कार्यभन्दा फरक वातावरण सिर्जना गर्न तथा संस्थागत कार्यसंस्कृतिमा सकारात्मक प्रभाव पार्ने भएकाले आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।







About Us
प्रतिक्रिया