काठमाडौं -काठमाडौंकाे टेकुस्थित नेशनल ट्रेडिङ लिमिटेडको शाखा कार्यालयमा खाना पकाउने एलपी ग्यास लिन सर्वसाधारण घाम, पानी र हिलोको समेत पर्वाह नगरी घण्टौँसम्म लाइनमा बस्न बाध्य भएका छन्। बिहानदेखि नै ग्यासको पालो पर्खिरहेका उपभोक्ताले हातमा, काँधमा तथा मोटरसाइकलमा सिलिन्डर बोकेर लामो लाइनमा उभिनुपरेको छ।
टेकुस्थित शाखाबाट बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मात्र ग्यास बिक्री–वितरण हुने व्यवस्था रहेकाले सीमित समयमा सेवा लिन उपभोक्ताको भीड लागेको हो। लाइनमा सुगम ग्यास, नेपाल ग्यास, एभरेस्ट ग्यास, एलपी ग्यास, राजधानी ग्यास, त्रिवेणी ग्यासलगायत विभिन्न कम्पनीका सिलिन्डर बोकेका उपभोक्ताहरू देखिएका छन्। वितरण केन्द्र बाहिर घाम, वर्षा र हिलोको समेत सामना गर्दै नागरिकहरू पालो कुर्न बाध्य भएका छन्।
यता, नेपाल आयल निगमका अधिकारीहरूले भने ग्यास उद्योगीहरूलाई नियमित रूपमा आपूर्ति भइरहेको र भारतबाट ग्यास बोकेका बुलेटहरू निर्बाध रूपमा नेपाल भित्रिरहेको दाबी गरेका छन्। निगमका अनुसार बजारमा ग्यासको आपूर्तिमा कुनै समस्या छैन।
यद्यपि, उपभोक्ताहरूले वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन टोकन प्रणाली वा अनलाइन दर्ताको व्यवस्था गर्न माग गरेका छन्। अहिलेको भौतिक लाइन प्रणालीका कारण विशेषगरी वृद्धवृद्धा, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई बढी सास्ती भएको उनीहरूको गुनासो छ।
उपभोक्ता अधिकारकर्मीहरूले पनि बजार अनुगमन प्रभावकारी बनाउन आग्रह गरेका छन्। उनीहरूका अनुसार नेपाल आयल निगमले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समन्वय गरी काठमाडौंका डिलरहरूमा ग्यासको वास्तविक उपलब्धता, कृत्रिम अभाव वा कालोबजारी भए–नभएको विषयमा नियमित अनुगमन गर्नुपर्छ। उनीहरूको भनाइमा केवल ‘ग्यास पर्याप्त छ’ भन्ने विज्ञप्ति जारी गर्नु पर्याप्त हुँदैन। उपभोक्ताले सहज रूपमा आफ्नै क्षेत्रबाट ग्यास प्राप्त गर्न सक्ने वातावरण सुनिश्चित गर्नु नै सरकार र सम्बन्धित निकायको मुख्य जिम्मेवारी हो।







About Us
प्रतिक्रिया