वित्तीय स्थायित्व नै राष्ट्र बैंकको प्रमुख लक्ष्य हो : कार्यकारी निर्देशक सापकोटा


काठमाडौं – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व नै राष्ट्र बैंकको लक्ष्य रहेको बताएका छन्। उनले वित्तीय स्थायित्वमा केन्द्रित हुने भएकाले मौद्रिक नीति लिएका लक्ष्यलाई नै आधार बनाएर असफल मान्न नमिल्ने बताए। पछिल्लो २-३ वर्षमा मौद्रिक नीतिमा कर्जा विस्तार गर्ने लक्ष्य लिइरहेकोमा लक्ष्य अनुसार हुन नसकेकाे पनि उनले बताए।

‘२०७७ सालको मौद्रिक नीतिमा पुनर्कर्जा को नीति लिएको थियो। कोभिडको समयमा त्यसलाई निश्चित अवधिका लागि ल्याइएको थियो। तर त्यो सधैं दिइरहन मिल्दैन । उद्योगी व्यवसायीले पनि यो कुरा बुझ्नु पर्छ,’ उनले भने। राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक देवकुमार ढकालले सबैले बुझ्ने भएकोले फाइनान्सियल सेक्टरको पोलिसीमा चासो बढिरहेको बताए। उनले बजारलाई तरलता प्रशोचन गर्न सक्ने गरि क्षमता विस्तार गर्नुपर्ने बताए।

नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष अनिल कुमार उपाध्यायले विगतमा लिइएका कसिलो व्यवस्थाका कारण अहिले अर्थतन्त्रमा समस्या आएको बताए । उनले कोभिडको समयमा कर्जा वृद्धि पनि भएको र विदेशी मुद्रा पनि कम भएको अवस्थामा समस्या आएको विषयको उदाहरण दिए। त्यस समयमा संकटलाई टार्न लिइएका कसिलो व्यवस्थाको असर अहिले देखापरेको बताए। उनले भने,’हामीले कुन क्षेत्रमा कर्जा वृद्धि गर्न खोजेको हो वित्त नीति र मौद्रिक नीतिमा प्रष्ट रूपमा उल्लेख गरेर आउनु पर्छ। अहिले टाल्टुले अवस्थामा वृद्धि हुन सकेको छैन।’