काठमाडौं – राष्ट्रियसभाका सांसदहरू ‘यस वर्ष किसानलाई मलको अभाव नहोस्’ भनी सरकारसँग माग गरेका छन्। सभाको आजको बैठकको विशेष समयमा दलीय आधारमा आ–आफ्नो धारणा राख्दै सांसदहरूले हरेक वर्ष खेती गर्ने क्रममा किसानले समस्या झल्नुपरेको उल्लेख गर्दै यस वर्ष समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
नेकपा (एमाले) सांसद सम्झना देवकोटाले बर्खा सुरु हुँदैगर्दा आमकिसानलाई मलको अभाव हुन नदिन सरकार गम्भीर हुनुपर्ने बताइन्। नेपाली कांग्रेसका सांसद कमला देवी पन्तले भनिन्,’सार्वजनिक यातायातको भाडा तीन पटक बढिसक्यो, जनतालाई यातायातमा आवतजावत गर्न कति गाह्रो भएको छ, योबारेमा सरकारले विशेष ध्यान दिनुपर्छ, किसानले दूध, आलुको मूल्य पाएको छैन योबारेमा सरकार बोल्नु पर्दैन र ?’
नेपाली कम्युनिष्ट पार्टीका सांसद राजेन्द्रलक्ष्मी गैरेले यही जेठ ११ गते स्वास्थ्य बिमा बोर्डको बैठकले यही १६ गतेदखि बिमा बन्द गर्ने भनी गरेको निर्णय सच्च्याउन आग्रह गरिन्। जनता समाजावादी पार्टी नेपालका सांसद मोहम्मद खालीदले पछिल्लो समय युवा पलायन झनझन बढ्दै गएको उल्लेख गर्दै त्यसलाई रोक्ने गरी रोजगारी सिर्जना गर्ने योजना अगाडि बढाउन सरकारसँग आह्वान गरे।
नेपाली कांग्रेसका सांसद विष्णुकुमारी सापकोटाले स्थानीय तहलाई कमजोर बनाउने गरी कुनै पनि निर्णय नगर्न सङ्घीय सरकारसँग आग्रह गरिन्। कांग्रेस सांसद रेनु चन्दले सुकुमवासीको उचित व्यवस्थापन गर्नुपर्ने माग गरिन्। एमालेकी सांसद मीनासिंह रखालले बर्खाको समयमा पहाड र दुर्गम क्षेत्रका सडक दुर्घटना हुन नदिन जीर्ण अवस्थामा रहेका सडकको पुनःनिर्माण समयमै सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराइन्।
नेपाली कम्युनिष्ट पार्टीका सांसद श्रीकृष्णप्रसाद अधिकारीले दलितहरूले एकपटकका लागि जमिन पाउने संवैधानिक अधिकार कार्यान्वयन गर्नुपर्ने माग गरे। कांग्रेस सांसद जगत तिमिल्सिनाले मुलुकको अर्थतन्त्र बलियो बनाउन सरकारले उद्योग सञ्चालनमा ध्यान दिनुपर्नेमा जोड दिए।






About Us
प्रतिक्रिया